सर्लाही, २ जेठ। सर्लाहीको हरिपुर नगरपालिका ५ मजुर्वास्थित कृष्ण इँट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको चाङ ढलेर पुरिँदा ३ जना मजदुरको मृत्यु भएको छ। सोही क्रममा २ जना घाइते भएका छन्। इँट्टा भट्टाबाट इँट्टा निकाल्ने क्रममा शुक्रबार साँझ पर्खाल ढल्दा कामदारहरू पुरिएका थिए।

घाइतेहरूको उद्धार गरी तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याएपनि उपचारका क्रममा गौडैता नगरपालिका ७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडैता ९ कै ३५ वर्षीय शम्भु राउत र भारतको लखेमपुर निवासी अन्दाजी ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा मलंगवा नगरपालिका ७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन्। तुलसीको प्रादेशिक अस्पताल मलंगवा र सत्यनारायणको मजुर्वास्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।
घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक शिव कटेलको कमाण्डको टोली घटनास्थलमा पुगेको उनीहरुलाई उद्दार गरी अस्पताल पुर्याएका थिए।





















