सिरहा, ३ जेठ। सिरहमा चौथो ‘सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता २०८३’ यहि जेष्ठ ८ गतेबाट सञ्चालन हुने भएको छ। स्थानीय सलहेश युवा क्लबको आयोजना, सिरहा नगरपालिकाको मुख्य आर्थिक सहयोग र जिल्ला फुटबल सङ्घ सिरहाको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
सिरहा नगरपालिका ३ मखनाहास्थित शंकर खेल मैदानमा हुने उद्घाटन खेलमा चात्या सा फुटबल क्लब झापा र गोलबजार युनाइटेड क्लब गोलबजारबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। ‘युवाको सम्मान, सलहेश नगरी सिरहाको पहिचान, फुटबल खेल हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गरी आठ टोलीको सहभागिता रहने आयोजक सलहेश युवा क्लबका अध्यक्ष राजीव यादवले जानकारी दिए।
उनका अनुसार यस वर्ष केही नयाँ टोलीहरूलाई समेत समावेश गरिएकाले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा आयोजक सलहेश युवा क्लब सिरहासहित रिफ्स काठमाडौं, पथरी ११ एफसी मोरङ, गाईघाट युनाइटेड उदयपुर, गोल्डेन स्टार युथ क्लब भलुवा सुनसरी र भारतको माँ कामाख्या स्पोर्टस क्लब बक्सर (बिहार)को सहभागिता रहने आयोजकले खेल तालिका सार्वजनिक गरिसकेको छ।
प्रतियोगिताको फाइनल खेल गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते हुनेछ। आयोजकका अनुसार, प्रतियोगिताको विजेता टोलीले नगद तीन लाखसहित रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ।
सिरहा जिल्लाकै प्रतिष्ठित र ठूलो खेल उत्सवको मध्येका यस प्रतियोगितालाई मधेश प्रदेशमा फुटबल खेलको विकास, युवा प्रतिभाको पहिचान तथा खेल पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माध्यमको रूपमा लिइएको छ।






















