जनकपुरधाम, ४जेठ । मधेशको आठ वटै जिल्लाका खेलाडीको सहभागीतामा ‘खेली मधेश, जिती मधेश’ भन्ने मुल नारासहित प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। मधेश खेलकुद परिषद्को आयोजनामा प्रदेशभर खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यकासाथ परिषद्ले सोमबारदेखि जनकपुरधामस्थित कभर्ड हलमा विभिन्न १९ विधाका खेल प्रतियोगिता सुरु गरेको हो।
प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल, टेबलटेनिस, खो–खो, ह्याण्डबल, कराँटे, तेक्वान्दो, बास्केटबल, जुडो, ब्याडमिन्टन, भारोत्तोलन, वृद्धिचाल, उसु, हक्कीलगायतका खेल समावेश छन्।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै परिषद्का सदस्य सचिव शिवजीप्रसाद कानुले प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउँदै युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताए। उनले खेललाई व्यवसायीकरण गर्दै खेलाडी र मधेश प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
सदस्य सचिव कानुले परिषद्ले खेलकुद क्षेत्रमा ‘क्रान्ति ल्याउने’ गरी २३ विधालाई अघि बढाउने तयारी गरेको जानकारी दिए।
यस्तै सम्बोधनकै क्रममा मधेश प्रदेशका पूर्वमन्त्री तथा मधेश प्रदेश भलिबल सङ्घका अध्यक्ष ज्ञानेन्द्र कुमार यादवले खेलाडीको हकअधिकार, सेवा सुविधा तथा उपयुक्त खेल वातावरण निर्माणका लागि नीतिगत सुधार आवश्यक रहेको बताए।
उनले उत्कृष्ट खेलाडीका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै देशका कुनाकाप्चाबाट खेलाडीलाई राष्ट्रिय स्तरसम्म ल्याउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
प्रतियोगितामा मधेश प्रदेशका आठवटै जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीको सहभागिता रहेको छ। परिषद्का अनुसार प्रत्येक जिल्लाबाट १६७ पुरुष खेलाडी, १०८ महिला खेलाडी, १८ प्रशिक्षक र १० व्यवस्थापक गरी ३०३ जना सहभागी छन्। १९ वटा खेलमा प्रदेशभरबाट कुल दुई हजार ४७२ खेलाडी सहभागी हुनेछन्।
परिषद्का अनुसार दुई करोड ५५ लाख रुपियाँ लागतमा सञ्चालन भएको प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार रुपियाँ, द्वितीय हुनेलाई १५ हजार रुपियाँ तथा तृतीय हुनेलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ।
२५ दिनसम्म सञ्चालन हुने प्रतियोगिताहरू जनकपुरधामको कभर्डहलबाहेक सप्तरीको राजविराज, सिरहाको गोलबजार, धनुषाको महेन्द्रनगर, महोत्तरीको जलेश्वर र कान्तीबजार, रौतहटको चन्द्रपुर, निजगढ, बाराको कलैया, पर्साको वीरगञ्ज, सर्लाहीको मलंगवा । लालबन्दीमा हुनेछन्।






















