समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरीको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । घाँटीको क्यान्सरबाट शनिबार राति निधन भएका ७७ वर्षीय गिरीलाई सरकारको निर्णयअनुसार राजकीय सम्मानका साथ बिदाइ गरिएको हो ।
गिरीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि विभिन्न राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्ति र ठूलो संख्यामा पार्टीका कार्यकर्ता आर्यघाट पुगेका थिए । गिरीलाई उनका छोरा सन्तोष र भतिजाहरू प्रन्ययन गिरी र सन्दर्भ गिरीले दागबत्ती दिएका थिए । त्यसअघि उनको पार्थिव शरीरलाई मेडिसिटी अस्पतालको शिवालय कक्ष र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा समेत श्रद्धाञ्जलीका लागि राखिएको थियो । दुवै ठाउँमा पार्टीका नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको थियो । पार्टीका कार्यक्रममा राजधानी बाहिर रहेका नेतासमेत गिरीको निधनको खबर सुन्नासाथ काठमाडौ फर्किएका थिए ।
पार्टीको केन्द्रीय सदस्यबाट माथि जान नखोज्ने, सांसद पटक–पटक बन्ने तर मन्त्री कहिल्यै हुन नखोज्ने गिरीलाई सञ्चारकर्मीले बारम्बार प्रश्न गर्थे, ‘तपाईं राजनीतिमा किन लाग्नुभयो ?’ अर्को प्रश्न हुन्थ्यो, ‘तपाईं कांग्रेसमै किन लाग्नुभयो ?’ पछिल्लो प्रश्न गरिनुका पछि गिरीको वैचारिक रूपमा कांग्रेसभन्दा पनि कम्युनिस्ट दर्शन र आदर्शसँग बढी निकटता रहनु हो । गिरीको जवाफ हुन्थ्यो, ‘म पूर्ण राजनीतिक प्राणी होइन, राजनीतिको पोखरीमा म कहिल्यै चुर्लुम्म डुब्न चाहिनँ । जस्तोसुकै खराब किन नहोस्, कांग्रेसले कहिल्यै व्यक्तिगत स्वतन्त्रतामाथि प्रहार गरेको छैन । त्यसैले म कांग्रेसमा छु ।’
गिरीको जीवन मात्रै होइन, घरव्यवहार पनि व्यवस्थित थिएन । उनी लामो समय बानेश्वरको कात्यानी चोकनजिक बस्थे । कांग्रेस कार्यकर्ता गुणनिधि तिवारीले भाडा नलिईकनै गिरीलाई आफ्नो घरमा बस्न दिएका थिए । पुरानो घर भत्काएर नयाँ घर बनाउन थालेपछि भने उनी तीन वर्षअघिदेखि भाइ लक्ष्मण गिरीको अपार्टमेन्टमा बस्दै आएका थिए ।
‘अपवाद नेता’
प्राध्यापक कृष्ण खनालका अनुसार प्रदीप गिरी पार्टीभित्र आफ्नो भूमिका र जिम्मेवारी आफैं परिभाषा गरेर हिँड्न सक्ने क्षमता भएका समकालीन राजनीतिका अपवाद नेता हुन् । उनी सत्ता निरपेक्ष भएर मूल्य मान्यताको राजनीति गर्ने, समयको आवश्यकतालाई बुझेर अघि बढ्न सक्ने र समाजवादी दर्शनलाई आफ्नो जीवनमा रूपान्तरण गरेर देखाउने नेता हुन् । पार्टी स्थापनाकालमै बीपीले प्रजातन्त्र, समाजवाद र राष्ट्रियतालाई पार्टीको वैचारिक दर्शन बनाएका थिए । कांग्रेसले अहिले पनि यिनैलाई मूल आदर्श मान्ने गर्छ । ‘तर कांग्रेसमा समाजवाद नारा मात्रै छ । चिन्तन, अध्ययन छैन,’ खनाल भन्छन्, ‘समाजवादीको विषय भट्याउने काम मात्रै छ । त्यस हिसाबले प्रदीप र कांग्रेसबीच कहींकतै भेट हुन्थेन ।’
पार्टी सत्तामा पुग्दा गिरी र सरकारले लिने नीतिमा समानताभन्दा द्वन्द्व बढी देखिन्छ । ०४६ सालको परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारमा अधिकांश समय रामशरण महत अर्थमन्त्री थिए । कांग्रेसमा महत र गिरीका बीच जहिल्यै अर्थनीतिको द्वन्द्व चल्थ्यो । महत उदार अर्थतन्त्रका पक्षपाती थिए भने गिरी समाजवादी अर्थतन्त्रका । महत अर्थमन्त्री भएकै बेला सरकारी उद्योगहरूलाई निजीकरण गरिएकोदेखि राष्ट्रिय नीतिमा अपनाइएको उदार अर्थतन्त्रसम्ममा गिरीले सार्वजनिक रूपमै विरोध गरे । शिक्षा, स्वास्थ्य र बाँच्न पाउने जस्ता जनताका न्यूनतम आधारभूत कुरा राज्यले संरक्षण गर्नुपर्छ भन्ने गिरीको मत हुन्थ्यो । सुरुवाती दिनमा वैचारिक द्वन्द्वजस्तो देखिए पनि पछिल्लो कालखण्डमा गिरी लोकतान्त्रिक अर्थतन्त्रकै पक्षमा देखिएको महतको दाबी छ । ‘उहाँको प्राथमिकता पुरानो समाजवादी अर्थनीतिप्रति थियो । सबै सरकारले गर्नुपर्छ, यसले सरकारको ढुकुटी बढ्छ, गरिबी निवारणमा सहयोग पुग्छ भन्ने कुरा गर्नुहुन्थ्यो,’ महत भन्छन्, ‘जब निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति चीनले लियो, त्यही बाटोबाट चीनले आर्थिक प्रगति हासिल गर्यो । भारत र रुसले पनि उदार अर्थनीतिको बाटो समाते । त्यसपछि गिरीले पनि लोकतान्त्रिक समाजवादको बाटो लिनुभएको थियो ।’
सरकारमा सांसददेखि माथि र पार्टीमा केन्द्रीय सदस्यदेखि माथिल्लो पदमा पुग्ने कहिल्यै चाहना गिरीमा थिएन । उनी पटक/पटक सांसद भए । तर कहिल्यै मन्त्री बन्ने दौडमा लागेनन् । ०५६ सालको निर्वाचनको प्रचारका क्रममा कृष्णप्रसाद भट्टराईले उनकै निर्वाचन क्षेत्रमा पुगेर ‘गिरीलाई जिताउनुहोस्, शिक्षामन्त्री बनाउँछु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएको सम्झन्छन् नेता नरहरि आचार्य । ०५६ को निर्वाचनमा गिरिजाप्रसाद कोइरालाले भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए र उनी पर्साबाट चुनाव लडेका थिए । गिरीले ०५६ सालमा चुनाव जित्न सकेनन् । चुनाव हारेपछि गिरीले ‘भगवान्ले मलाई जोगाउनुभयो, चुनाव जितेको भए किसुनजीको कुरा काट्न मलाई गाह्रो पर्थ्यो’ भनेर प्रतिक्रिया दिएका थिए । नेता आचार्य यसलाई कतिपयले उनको योग्यतासँग पनि जोडेर आलोचना गरेको सम्झन्छन् । ‘तर उहाँलाई आफू कहाँ योग्य छु भन्ने कुरा प्रस्टसँग थाहा थियो,’ उनले थपे, ‘सुत्दा पनि, उठ्दा पनि, खाँदा पनि राजनीति गर्नेहरूसँग तपाईं हामी जस्ता मान्छेले प्रतिस्पर्धा गर्न सकिन्न भन्नुहुन्थ्यो ।’
अनौपचारिक छलफलमा समेत भट्टराईले गिरीलाई मन्त्री हुनका लागि आग्रह गरिरहेको प्रसंग गिरीसँग लामो संगत गरेका राजनीतिज्ञ दुर्गा सुवेदी स्मरण गर्छन् । ‘०५६ सालकै चुनावताका हो । म उपस्थित भएकै बेला किसनुजीले प्रदीपजीलाई मन्त्री बन्नुपर्छ भन्नुभएको थियो,’ सुवेदीले सुनाए, ‘तर उहाँले मन्त्रीले के–के गर्छन्, म त्यस्तो काम गर्न सक्दिनँ, मेरो काम छलफल गर्ने, तपाईंहरूबाट सिक्ने, जानेका कुरा सिकाउने हो भन्नुभएको थियो ।’
सुवेदीका अनुसार गिरी पार्टी र परिवारको बन्धनमा नपरेका निष्फिक्री मान्छे थिए । विचारमा गिरी कम्युनिस्ट दर्शनसँग निकट थिए तर व्यावहारिक राजनीतिमा उनी कांग्रेसमा थिए । कांग्रेसभित्र पनि उनी देउवाको गुटमा थिए । कुनै नेताका कर्म र पार्टीका गलत निर्णयमा गिरीले खुलेर आलोचना गर्थे । प्रदीप गिरीका हकमा कांग्रेस नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा विरोध गर्न सक्थेनन् ।
गिरीसँग नजिकको सम्बन्धमा रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आफूले समेत ०७४ को एक सार्वजनिक कार्यक्रममा गिरीलाई मन्त्री हुन आग्रह गरेको सम्झन्छन् । त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री र उनी अर्थमन्त्री थिए । देउवा प्रमुख अतिथि भएकै कार्यक्रममा कार्कीले ‘प्रदीपजीको परीक्षा हुन बाँकी छ, मन्त्री भएर परीक्षा दिनुपर्छ’ भनेका थिए । ‘उहाँले कुनै प्रतिक्रिया दिनुभएन । उहाँले चाहेको भए भट्टराई र देउवा पटक–पटक प्रधानमन्त्री भएका बेला मन्त्री भइरहन सक्नुहुन्थ्यो । उहाँले नचाहिने काम गरिदिनुपर्यो पनि भन्नुभएन । कहिलेकाहीं प्रक्रिया र कानुनले दिने काम यसो हेरिदेऊ है, मलाई यसले धेरै सहयोग गरेको छ मात्रै भन्नुहुन्थ्यो,’ कार्कीले सुनाए, ‘प्रदीपजी नेपाली राजनीतिमा कहिल्यै ननिभ्ने दियो बालेर जानुभएको छ । उहाँको राजनीतिक दर्शन, निष्ठा र विचारले नेपाली राजनीतिलाई धेरैपछिसम्म तरंगित पारिरहनेछ ।’
कांग्रेस नेता विमलेन्द्र निधि गिरीलाई आफ्नो राजनीतिक अभिभावक र आदर्श नै मान्थे । गत वर्ष भदौमा बिरामी भएर गिरी मुम्बई गएको खबर सुन्नासाथ उनी पनि उतै पुगेका थिए । ‘गिरीको निधनले कांग्रेस र मुलुककै लागि ठूलो क्षति पुर्याएको छ,’ निधिले भने । महाभारतका विषयमा घण्टौं बोल्न र प्रवचन दिने गिरीको रामायणको गहिरो अनुराग रहेको निधि बताउँछन् ।
कान्तिपुरबाट।