सिरहा २५ कार्तिक। सरकारले राष्ट्रिय परिचयपत्रलाई प्रशासनिक कामकाजको लागि अनिवार्य गरेपछि जिल्ला जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहिको भिड लागेको छ।

बैंक खाता, वृद्ध भत्ता, पेन्सन निकाल्ने र जग्गा रजिष्ट्रेशन लगायत प्रशासनिक काम काजमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरे पछि बनाउनेहरुको भिड लागेको हो।
सेवाग्राहीहरुको चाप बढेपछि प्रशासन कार्यालयले परिचय पत्रको काम विहान सात बजेदेखि दिउँसो पाँच बजेसम्म गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनले भने, ‘सेवा ग्राहीको चापलाई ध्यान दिँदै अहिले विहान ७ बजेदेखि नै काम भईरहेको छ। अहिले दैनिक चार सयभन्दा बढी परिचय पत्र वितरण भइरहेको वताइएको छ।’
कार्यालयले सहजताको लागि निःशुल्क रुपमा राष्ट्रिय परिचय पत्र फर्म भरिदिने व्यवस्था समेत गरिएकाले सेवाग्राहीहरुलाई सहज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
स्थानीय तहमा राष्ट्रिय परिचय बनाउने जिम्मा दिएपनि प्राविधिक कठिनाई आउन थालेपछि अहिले जिल्ला प्रशासन कार्यालय सिरहा र ईलाका प्रशासन कार्यालय लहानबाट मात्र सेवा प्रवाह भईरहेको छ।






















