वीरगञ्ज, ५ भाद्र। मधेश प्रदेशसभा सदस्य प्रह्लाद गिरी आफ्नो सबैभन्दा पूरानो घर नेकपा एमालेमै फर्किएका छन्। नेपाली कांग्रेस बाहेक राष्ट्रिय स्तरको राजनीतिमा रहेका लगभग सबै पार्टीमा प्रवेश गरिसकेका गिरी पुनः नेकपा एमालेमै फर्किएका हुन्।
गिरीले लोकतान्त्रिक समजावादी पार्टी (लोसपा) त्यागेर एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट फूलमाला र टिका लगाई पार्टी प्रवेश गरेका छन्। उनि हाल निर्वाचित प्रदेशसभाको सिटमा अब नेकपा एमालेबाट लड्ने स्रोतको दावी छ।
गिरी तत्कालिन सङ्घीय समाजावादी फोरम नेपालबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशसभाको निर्वाचनमा गिरीले नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीलाई झिनो मतान्तरले पराजित गरेका थिए। जनता माझ अवसरवादी र दलबदलुको छवी बनाएका गिरी मधेश आन्दोलनको लहर उठेको बेला प्रदेशसभामा निर्वाचित भएको राजनीतिक विश्लेषकहरु बताउँछन्।
प्रदेशमा सरकार गठन हुनेबेला मूख्यमन्त्रीको दावी गरेका गिरीले सरकार गठन पश्चात एउटा मन्त्रालयसमेत पाएनन्।
सङ्घीय समाजवादी र राष्ट्रिय जनता दल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा गिरीले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समजावादी पार्टी (लोसपा) रोजेका थिए।
यस्तो छ गिरीको राजनीति इतिहास
गिरी कम्युनिष्ट आन्दोलनबाट राजनीतिमा आएका व्यक्ति हुन्। नेकपा एमालेबाट सक्रिय राजनीति सुरुवात गरेका गिरीले २०५१ मा एमालेबाट संसद्को निर्वाचन लडेका थिए। तर उनि पराजित भए। त्यसपछि उनले २०५८ सालमा एमाले परित्याग गर्दै स्व. सलीम अन्सारीको समाजवादी पार्टीमा प्रवेश गरे।
केही समय त्यहाँ बसेर उनि कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा गए। राप्रपा मार्फत राजा र राजतन्त्रको पक्षमा वकालत गर्दागर्दै उनले अचानक यो पार्टी पनि छाडे।
राप्रपापछि उनि अलग देश बनाउने आन्दोलन गरिरहेको भूमिगत गोइत समूहमा लागे। गोइतसँगको उनको साझेदारी लामो समयसम्म चलेन। गिरीले आफ्नै नेतृत्वमा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक भूमिगत समूहको सुरुवात गरे।
मोर्चामा ‘पवन’ उपनामले चिनिएका गिरीले त्यसताका व्यपारीहरुलाई धम्क्याउँदै चन्दा आतङ्क मच्चाएको आरोप समेत लाग्ने गरेको छ। गिरीको मोर्चा पनि धेरै दिनसम्म चल्न सकेन। नेकपा एमालेकै नेताहरुको पहलमा उनि शान्ति वार्तामा फर्किए र गणतान्त्रिक तराई मुक्ति मोर्चाको अन्त्य भयो।
भूमिगतबाट बाहिर आएका गिरीले गणतन्त्र नेपालसँग बिचार मिल्ने पार्टी माओवादी हो भन्दै प्रचण्डको नेतृत्वमा आफ्नो राजनीतिक यात्रा अगाडी बढाए। २०७० को संविधानसभा निर्वाचनमा उनि फेरी माओवादीबाट लडे र एमालेका राजकुमार गुप्तासँग पराजित भए। पराजय पश्चात गिरीले प्रचण्डको पनि साथ छाडे र फेरी एमालेमा फर्किए। २०७४ को स्थानीय तह निर्वाचन अगाडिसम्म उनि एमालेमै रहिरहे।
तर, एमालेले मधेशी जनतासँग धोका गरेको भन्दै गिरी स्थानीय तहको निर्वाचनभन्दा केहि दिन अगाडी फेरी पार्टी परिवर्तन गर्दै उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालमा लागे। संविधानलाई संसोधन गराउँदै मधेशी जनताको अधिकार फोरमले मात्र दिलाउने भन्दै उनले फोरममा प्रवेश गरेका थिए।
अहिले उनि सङ्घीय समाजावादी फोरम नेपालबाट नयाँ शक्तिसँग मिलेर बनेको समाजवादी पार्टी हुँदै जसपा र त्यो टुक्रिएर बनेको लोसपासँग आबद्ध थिए। गिरीले अब लोसपा पनि त्यागेका छन्।
नेकपा माओवादी केन्द्रका नेता छोटेलाल प्रसाद यादव गिरीसँगै अन्य निर्वाचित जनप्रतिनिधीहरुको कामदेखि असन्तुष्ट छन्। उनी भन्छन्, ‘उहाँको मात्रै कुरा नगरौ समग्रमा कोही पनि जनप्रतिनिधीहरुले सन्तोषजनक काम गरेको पाइँदैन।’ शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सामान्य परिवर्तन र व्यवस्थापन समेत हुन नसकेको अवस्थामा अरु आश गर्नु उचित नहुने यादवको भनाई छ।
उनी थप्छन्, ‘चुनावले विकृति ल्यायो, अहिलेको माहोलले पैँसा भन्छ, २ पैँसा लगाएर ४ पैँसा असुल्नेतर्फ नेताहरु केन्द्रीत भए। राजनीति सेवा भन्दा पनि व्यापार बन्यो। जनप्रतिनिधीलाई दोष लगाएर पनि के गर्नु? पूरा प्रणाली नै ठीक छैन।’