घटना १ : एक वर्षमै व्यापारमा करोडको घाटा बेहोर्नुपरेपछि तनावमा परेका चन्द्रागिरि नगरपालिका–४ का ३५ वर्षीय विनय लामिछाने श्रीमती र दुई नाबालक छोरासहित २०७६ माघको पहिलो साता त्रिशूली नदीमा हेलिए । उनीबाहेक सबैको मृत्यु भयो ।
घटना २ : अछामको बयलपाटा अस्पतालमा कार्यरत २७ वर्षीय सिद्धार्थ आउजी (त्यतिखेर ७ महिने शिशुका पिता) ले जागिरबाट निकालिएपछि आत्मदाह गरे । २०७७ जेठको अन्तिम साता लकडाउनका समयमा अस्पतालले तलब दिन नसक्ने बताउँदै ३२ कर्मचारीलाई जागिरबाट हटाएलगत्तै यो दर्दनाक घटना भएको थियो ।
तथ्य १ : बीबीसीको एउटा रिपोर्टमा नेपालमा आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै रहेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनकै अनुसार आत्महत्या गर्नेमा ८ प्रतिशत पुरुष छन् भने ६ प्रतिशत महिला । अर्को तथ्यांक अनुसार विश्वमै आत्महत्या गर्नेमा करिब १४.६८ प्रतिशत पुरुष छन् भने महिला ४.३७ प्रतिशत । १५–२९ वर्ष उमेरसमूहकाहरू यो सूचीमा बढी छन् ।
तथ्य २ : संयुक्त राष्ट्रसंघीय जनसंख्या विभागको सन् २०२० को तथ्यांक अनुसार विश्वमा महिलाको औसत आयु ७५.६ वर्ष छ भने पुरुषको ७०.८ वर्ष । सोही वर्ष नेपाली महिलाको औसत आयु ७३.२३ वर्ष देखिँदा पुरुषको भने ७०.१३ वर्ष देखिएको छ ।
माथिका घटना र तथ्यहरूले पितृसत्तात्मक समाजका विविध पक्षमध्ये लैंगिक पाटो र यसको प्रभाव उजागर गर्छन् । यो आलेख तिनै घटना र तथ्यमा आधारित रहेर पितृसत्तामा कसरी पुरुष पनि दमित, पीडित र प्रभावित छ भन्नेमा केन्द्रित हुनेछ ।
महिलाका तुलनामा ठूलो संख्यामा पुरुष वर्षौं परदेसिँदा, शारीरिक रूपले अशक्त भए पनि काम गरिरहेको पुरुष देख्दा, चाहे उसको घरमा स्वस्थ तन्दुरुस्त महिला सदस्य किन नहोउन्, हामी अधिकांशलाई त्यो असामान्य लाग्दैन । किनकि हामीलाई पुरुष भनेका परिवारका ‘अन्नदाता’ लाग्छन् । अन्नदाताले जहाँ जसरी जुन अवस्थाबाट गुज्रिएरै भए पनि घरका सदस्यहरूको पेट भर्नुपर्छ भन्ने कुरा हाम्रो अन्तस्करणमा गहिरोसँग गडेको छ ।
आजसम्म पितृसत्ताले पुरुषलाई सर्वोच्च स्थानमा राखेको र घरका सदस्यहरू (महिला तथा कमजोर वर्ग) मा पुरुषकै नियन्त्रण चल्ने गरेको छ भनी निकै पटक दोहोराइयो । पुरुषलाई एक्लो र एक मात्रै ‘अधिकारसम्पन्न’ व्यक्ति भनियो, तर यो सत्ता र व्यवस्थाभित्र आफैं पनि ‘दास’ रहेको यथार्थलाई न पुरुषको हृदयचक्षुले देख्यो न दोस्रो दर्जाको अनुभूति गर्ने महिलाबाट मनन गरियो ।
अन्य समाजमा जस्तै नेपाली समाजमा पनि यहाँको आर्थिक, सामाजिक र राजनीतिक प्रणाली अनुसार द्विसांख्यिक वर्ग (महिला/पुरुष) लाई परिवार र समाजले भिन्दाभिन्दै छवि र भूमिका दिएको छ । शिशु जन्मिएपश्चात् उसको बाह्य प्रजनन अंगका आधारमा महिला र पुरुष बनाउन सोही अनुरूपले सामाजिकीकरण गरिन्छ ।
अतः पितृसत्तात्मक व्यवस्थामा एउटा वयस्क पुरुषमा ‘पुरुषत्व’ हुनुपर्छ भने महिलामा पनि नारित्वका गुणहरू देखिनु अनिवार्य छ । परिवार र समाजले शरीर र मनस्थिति दुवै हिसाबले बलियो, आर्थिक लगायत हरेक हिसाबले आत्मनिर्भर, बौद्धिक रूपले तार्किक र तीक्ष्ण, स्वभावमा आक्रामक, निर्णय लिन सक्ने, अरूको आवश्यकता पूर्ति गर्न सक्ने र हरेकको संरक्षक बन्न सक्ने गुण भएकालाई पुरुषत्वयुक्त मानेको छ । नारी जातिलाई कमजोर मानिएको छ । त्यस्तै महिलालाई एकदमै भावनात्मक, अरू (विशेषतः पुरुष) मा निर्भर रहने, गाईजस्तै सोझी मतलब
आफ्नो अक्कल नलगाउने, अरूको निर्णयलाई शिरोधार्य गर्ने, सहनशील र पुरुषको कमाइको प्रयोग गरी पाल्ने र पालिने, दयालु, मायालु, पालनपोषणकर्ताका रूपमा हेरिएको छ ।
जुन जातिमा जुन गुण देखिनुपर्छ त्यो भएन भने वा त्यसविपरीत व्यवहार गरियो भने परिवार र समाजले नै असामान्य मान्छन् । वा, निर्धारित गुणहरू प्रदर्शन नगरेमा यी महिला र पुरुष दुवै जाति पुरस्कृत होइन कि तिरस्कृत हुन्छन् । यसरी विविध छवि, उपमा र विशेषणसहित पुरुषलाई उच्च सामाजिक हैसियत दिइएको मात्र छैन, नाम–दाम कमाउनुपर्ने अनि सफल बन्नैपर्ने मनोवैज्ञानिक दबाब र बाध्यता आजीवन पुग्ने गरी सृजना गरिएको छ ।
पुलिंगी समाज व्यवस्थाको हरेक बालकलाई पुरुषत्वको सामाजिक परिभाषा, पुरुषार्थ झल्काउने कर्मका उदाहरणहरू अन्तर्मनमा गढ्ने गरी चिनाइन्छन् र बुझाइन्छन् । उनीहरू असली ‘मर्द’ बन्ने लालसा बोकेर हुर्किन्छन् । परिपक्व असंख्य लोग्नेमानिसको उद्देश्य, दौड, अठोट र सपना त्यही हुन्छ— ‘मर्द’ बन्ने । मर्द अर्थात् सफल–संरक्षक–आत्मनिर्भर–अन्नदाता–आक्रामक बन्ने र बन्नैपर्ने चक्करमा पुरुष यो संरचनाबाट अत्यधिक लाभान्वित भएको मात्रै छैन, वञ्चितीकरणमा पनि परेको छ ।
माथि तथ्यमा भनिएजस्तै प्रवासिनु स्वाभाविक र प्राकृतिक विषय होइन । यसभित्र त पितृसत्ताले पुरुषलाई थोपरेको भयावह जिम्मेवारी छ । जसरी दिनपछि रात आउँछ र बिहान पूर्वमा उदाएको सूर्य साँझ पश्चिममा अस्ताउँछ, त्यसरी नै केटाहरूले कमाउन पर्नु अनि केटीहरूले भातभान्सा छोड्नै नहुनु प्राकृतिक र स्वाभाविक विषय हुँदै होइनन् ।
छोरो मान्छे वीर र साहसी हुनुपर्छ भन्नेजस्ता भनाइ अभिभावकबाट सुनेको पुरुष अनजान समुद्रपार पुगेर संघर्ष गर्न ‘डराउन नहुने’ बाध्यता छ । त्यो किनभने, परिवारका सबैको रोजीरोटी उही दाताको पसिनामा निर्भर छ ।
जीवनका कैयन् वर्ष प्रियजन, साथीभाइ र जन्मथलोबाट टाढा रहेर पराई भूमिमा संघर्ष गरिरहने छोरोमान्छेलाई अपरिचित ठाउँका दर्दनाक भोगाइहरू छताछुल्ल गर्न र रुन छुट छैन । किनकि, परिवार र समाजले मन्त्र पढाएकै छन्, ‘छोरोमान्छे भएर कठोर हुनुपर्छ । आँसु देखाउनु हुँदैन । तार्किक हुनुपर्छ, भावनामा बगेर जीवन चल्दैन ।’ यसरी पितृसत्तात्मक मन्त्रले केटामान्छेको संवेदनामा अंकुश लगाइदिएको छ ।
‘अन्न/सर्वदाता’ को भूमिका निर्वाह गर्दागर्दै, म (पुरुष) बाहेक सर्वनाम (अरू) का लागि पौंठेजोरी खेल्दाखेल्दै मरुभूमिमा मृत्युवरण गरेकाहरूका बाकस दैनिक त्रिभुवन विमानस्थलमा आइपुग्छन् । ती काठका बाकसमा अधिकांश पुरुष (वैदेशिक रोजगार प्रर्वद्धन बोर्डमा पेस भएको क्षतिपूर्तिको दाबी विवरण अनुसार २०१५ को जनवरी १ देखि डिसेम्बर ३ सम्म ९ सय ८८ पुरुष र १२ महिला कामदारको मृत्यु भएको देखिन्छ) हुन्छन् । यसरी इहलीला समाप्त हुने बेलासम्म उसले सायदै ऐया भन्न पाउँछ ।
‘गरिब भएर जन्मनु तिम्रो दोष होइन, तर गरिब भएरै मर्नुमा तिमी दोषी हुनेछौ’ भन्ने माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सको भनाइ थुप्रै युवाको मुटुमै लाग्यो । मनु विकले लेखै लेखेर मर्ने बेलामा ‘आफ्नै पैसाले कम्तीमा कात्रो किन्न सक्ने बन्नुपर्छ’ भन्ने भाव पोखे । पुरुषलाई यसरी पोखिन कसरी आउँछ ? सके टन्न कमाउनु र जमाउनुपर्छ, नसके पनि कात्रो आफ्नै कमाइको हुनुपर्छ भन्ने सामाजिक पाठले होइन ?
यसरी पुरुषलाई भरपूर दाम कमाउने र घरघडेरी समयमै जोडेर सबैसामु ‘सफल’ पात्र बन्ने महत्त्वाकांक्षा पाल्न र हुर्काउन सिकाएको छ पितृसत्तात्मक सामाजिकीकरणले । यो महत्त्वाकांक्षाले आफ्नो क्षमता, स्तर, आयस्ता बिर्सेर अन्ध बन्ने अधिकांशमा पुरुष नै छन् । ‘छोरोमान्छेले हार्नु हुँदैन, हार्ने लाछी हो’ भनिन्छ । ‘लाछी’ नबन्न जित्नैपर्ने मनोविज्ञानले पनि काम गर्छ उनीहरूमा । ‘मर्दले आँट गर्नुपर्छ’ भनेर पढाइएको छ । फलस्वरूप सुरुआतमा ठूलो लगानीको जोखिम लिन किञ्चित् नहिचकिचाउने तर अन्तमा कारोबार बिगारेर अकालमा त्रिशूलीमा बग्ने विनय लामिछानेहरू अनगिन्ती छैनन् ?
आजको महिला आन्दोलनले र असंख्य महिलाले अधिकांश राज्यका ठूलासाना सबै संरचनाको मास्टर म्यान (मालिक/हर्ताकर्ता) पुरुष नै भएको ठहर्याउँछन् । प्रत्यक्ष हेर्दा यो कदापि झुठो होइन । तर ती सबै संरचनाका स्वामी/प्रमुखहरूको पीडानुभूति, अँध्यारा पाटाहरू सुनाइएका र नियालिएका छैनन् । सुनाउनबाटै वञ्चित गरेपछि सुनिइँदैनन् पनि । पुरुषहरूका संवेग र भावनाहरू अदृश्य छन् । लुकाइएका छन् । दाह्रीजुँगाको साख जोगाइराख्न पुरुषले झेलिरहेका कष्टहरूको मूल्याकंन कहिले होला ?
छोरोलाई ‘सम्पत्तिको हकदार र वंशको उत्तराधिकारी’ मानिएको मात्रै छैन बरु उसले निर्वाह गर्नुपर्ने गरी निर्धारण गरिएको पारिवारिक/सामाजिक भूमिकाको बोझले थिलोथिलो पारिएको पनि छ । परिवार बचाउने, मातृभूमि अर्थात् सीमाको ‘रक्षक’ बन्नुपर्ने जिम्मेवारी उसैलाई सुम्पिइएको छ । महिलालाई वस्तु ठानेर मात्रै होइन कि पुरुष एक्लैलाई ‘कर्ता’ मानेर पनि पितृसत्ताले यी दुवै जातिलाई अन्याय गरेको छ । कर्ता जसलाई अशक्त हुँदाकै अवस्थामा समेत लतारिएरै काम गर्नुपर्ने र आफूमा निर्भर परिवारको पेट भर्नुपर्ने बाध्यता छ ।
पुरुषलाई प्रधान मानिदिएर यो व्यवस्थाले ओजयुक्त अनेक विशेषण दिएको छ । पुरुषलाई एकातर्फ फुर्क्याएको छ, अर्कोतर्फ थाहा नदिई जुन विशेषणले डामेको छ त्यसकै भार वहन गरिरहन अभिशप्त तुल्याएको छ ।
नारीवादी समाजशास्त्री ओड्री लोर्ड र पर्यावरण नारीवादी मारिया मिएस भन्छन्, ‘कसैलाई आफूले चाहेजस्तै काम गर्न प्रेरित गर्नका लागि उसले जे काम गरिरहेको छ त्यसको प्रशंसा गर्नु एउटा तरिका हो ।’ यसरी नै अबोध पुरुषलाई पितृसत्ताको पारिवारिक–सामाजिक संरचनाले वंशको उत्तराधिकारी बनिरहने र सम्पत्तिको रखबारी गरिरहने कहिल्यै पार नलाग्ने जिम्मेवारीले बाँधिदिएको छ । यही प्रक्रियामा फुर्क्याएर दास बनाएको छ पिता, पति र पुत्रका हैसियतमा हर पुरुषलाई । यही सिलसिलामा पुरुष आफू मान्छे हुँ भन्ने बिर्सन्छ र गधा बन्छ, खच्चड बन्छ, काममा पेलिइरहन्छ ।
पहिलो विश्वयुद्धका दौरान युद्धमा सामेल नभएका बेलायती पुरुषहरूलाई लज्जाबोध गराउन तत्कालीन सैन्य अधिकारी चार्ल्स पेनरोज फिट्जगेराल्ड ले ‘सेतो प्वाँख’ अभियान चलाए । ‘कायरता, लाज र कर्तव्यको बेवास्ता’ को प्रतीक मानिएको सेतो प्वाँख फिट्जगेराल्डले ३० महिलामार्फत बर्दीमा नभएका पुरुषहरूलाई दिए ।
इंगल्यान्डको फोकस्टोन सहरमा ३० अगस्ट १९१४ मा सेतो प्वाँखमार्फत पुरुषत्वमाथि नियोजित रूपमा धावा बोलियो । पुरुषलाई लाज मान्ने बनाउन र शिर झुकाउन यो चाल चलिएको थियो । हातमा सेतो प्वाँख लिएका युवतीहरूले पुरुषतर्फ सोझिँदै प्रतीकात्मक रूपमा ‘हामी तिमीहरूलाई हेरिरहेका छौं’ भनिरहँदा कैयन् बेलायतीलाई फेरि पनि सेतो प्वाँख पाउन सकिने डरले युद्धमा होमिन कर लाग्यो । पुरुषत्व जोगाइराख्न पुरुषले गर्नुपरेको त्यागबारे गम्भीर रूपले सायदै बहस भएको छ । सायद यसैकारण, ‘पिता अधिकार आन्दोलन’ का सिद्धान्तकार तथा अभियन्ता डेनियल एमनेउसले तीव्र आक्रोशका साथ ‘नारीवादीहरूले पुरुषको पहिचान/अस्तित्व युद्धका समयमा मात्र खोज्ने’ गरेको अभिव्यक्ति आफ्नो पुस्तक ‘ब्याक टु प्याट्रिआर्की’ मा दिएका छन् ।
विश्वमै पुरुषले स्वास्थ्य सुविधा, पोसिलो आहार, निश्चित समयको कामपछि आरामको समय र परिवारको हेरचाह महिला सदस्यले भन्दा बढी पाउने गरेको विभिन्न तथ्यले देखाउँछन् । तैपनि पुरुषकै औसत आयु कम हुनुको खास कारण के हो त ? युद्ध, नरसंहारबाहेक आत्महत्या गर्नेमा पनि पुरुषकै संख्या बढी हुनुमा कुन रहस्य लुकेको छ ? मनोचिकित्सकहरू यसको मुख्य कारक डिप्रेसन रहेको बताउँछन् । यसका अलावा सहायक (सामाजिक र आर्थिक) कारण पनि छन् । पितृसत्तात्मक संरचनाले लुकेर हिर्काइरहेको छ, पुरुष रगतको आँसु पिएर बाँचिरहेको छ जुन अति घातक छ ।
सही उमेर र समयमा उन्नति–प्रगति गर्न नसक्नु, परिवारको आर्थिक बोझ हुनु, शैक्षिक रूपमा उच्चता प्रदर्शन गर्न नसक्नु, लक्ष्य तय र हासिल गर्न नसक्नु, सम्बन्धहरूमा उतारचढाव आउनु, पारिवारिक वा सामाजिक सम्बन्ध खराब वा कम सुमधुर हुनु, पारिवारिक अवहेलना हुनु, कुटपिट वा झैझगडा हुनु, व्यापार–व्यवसायमा अत्यधिक घाटा हुनु, कार्यस्थलमा कुशलता प्रदर्शन गर्न नसक्नुजस्ता यावत् कारण छन् जसले सार्वजनिक रूपमा बढी सक्रिय बन्नुपर्ने जिम्मेवारी सम्हालिरहेको पुरुषलाई डिप्रेसनतिर लैजान्छन् । उ अन्य पुरुष साथीले पराक्रमी बनेर पुरुषार्थ निभाइरहेको ठान्छ र आफू हीनताबोध गर्छ । नतिजा, उसमा जीवनप्रति वैराग्य छाउँछ । आशा गुमाउँछ र आफैंप्रति विश्वास नरहेपछि आफ्नै जीवन निमोठ्छ या त आयु छोट्याउँछ ।
यसर्थ पुरुषत्व सम्बन्धी विचार, पुरुषत्वका मानक/मापदण्डहरूले पुरुषको स्वास्थ्यका लागि ठूलो खतरा निम्त्याउन सक्छन्, किनभने पुरुषत्वले जोखिम लिने व्यवहारलाई प्रोत्साहन गर्छ र मद्दत खोज्ने वा स्वास्थ्य सुधार गर्ने व्यवहारलाई निरुत्साहित गर्छ । अर्थात्, पुरुषहरूलाई चोटपटक लाग्ने वा उनीहरू बिरामी हुने सम्भावना बढी हुन्छ र उनीहरूले मद्दत खोज्ने सम्भावना कम हुन्छ । अब के गर्ने त ?
अमेरिकी समाजशास्त्री एलन जी जोन्सनले आफ्नो आलेख ‘प्याट्रिआर्की, द सिस्टम’ मा भनेजस्तै ‘पुरुष र पुरुषत्वलाई बढावा दिन, नारी र नारित्वलाई अवमूल्यन गर्न आजैका दिनदेखि छोड्नुपर्छ’ । परिवार र समाजले दिएको ‘रियल म्यान’ को परिभाषा बदल्नुपर्छ । सुस्केरा, रोदन सुनिनुपर्छ । भूमिका लादिनु हुँदैन, स्वस्फूर्त रूपमा छनोट गर्न पाउनुपर्छ । मानव सभ्यताको प्रगतिपथको तगारो पारम्परिक लैंगिक श्रम विभाजन खारेज गर्नुपर्छ ।
पितृसत्ताको वैचारिक बाकसभित्र उकुसमुकुस भएर बाँचेको पुरुषलाई उन्मुक्त भएर सास फेर्ने वातावरण बनाउनुपर्छ र यसको सुरुआत महिलाहरूले गरिसकेका छन् । अहिले वैदेशिक रोजगारीमा जाने महिलाको संख्या झन्डै ९ प्रतिशतले बढेको छ । परम्परागत लैंगिक भूमिकाहरू बदलिँदै छन् । महिलाले देशमै रहेर पुरुष सदस्यको अनुपस्थितिमा पनि दोहोरो–तेहरो कार्यभार सम्हालिरहेको यथार्थले उनीहरू पुरुषको काँधको बोझ बाँडेर बोक्न तत्पर रहेको पनि बताउँछ । यसैले महिला र पुरुष दुवैप्रति अन्यायी र हानिकारक पुरुषप्रधान व्यवस्थाप्रति हरेक पुरुषले आलोचनात्मक भएर सोच्नु जरुरी छ । अब पनि अबोध रहिरहनु अर्को भूल हुनेछ ।
कान्तिपुरबाट।