जनकपुरधाम, ११ साउन। नेकपा (माओवादी केन्द्र)ले पार्टीको मधेस प्रदेश समिति सक्रिय बनाउने भएको छ। जनकपुरमा आईतबार बसेको तदर्थ समितिको बैठकले मधेस प्रदेश समिति निर्माणमा सक्रियता बढाउने भएको हो।

516939538_1305659338233850_8893756082021894389_n

नेकपा (माओवादी केन्द्र) र एमाले एकतापछि बनेको मधेस प्रदेश समिति पार्टी अलग भएपछि माओवादी केन्द्रका मधेस प्रदेश कमिटि निर्माण हुन सकेको थिएन। त्यहि बेलाको प्रदेश कमिटिमा रहेका सदस्यहरु र हालै माओवादी केन्द्रसंग एकीकरण गरेको गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबाट प्रदेश तहका सदस्यहरुसहितको तदर्थ बैठक आईतबार जनकपुरमा सम्पन्न भएको हो।

यही तदर्थ समितिबाट अब नयाँ प्रदेश समिति बनाउने पार्टीका उपमहासचिव तथा मधेस प्रदेश इञ्चार्ज मातृका प्रसाद यादवले जानकारी दिए। प्रदेश कमिटि नहुँदा मधेसमा पार्टी चलायमान हुन सकेको थिएन।

विभिन्न गुट उपगुटका कारणले पनि मधेसमा पार्टी बन्न सकेको थिएन । अहिले मातृका यादवले इञ्चार्जको जिम्मेवारी लिएर आएपछि पहिलो पटक प्रदेश स्तरका सदस्यहरुको भेलाबाट प्रदेश कमिटिलाई सक्रिय बनाउनका लागि तदर्थ समिति बनाएको हो।

अब तदर्थ समितिले मधेस प्रदेश समितिको अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्नेछ। बैठकमा उपस्थित सदस्यहरु मध्य सबैभन्दा ज्येष्ठ सदस्य सिराहाका ७६ बर्षीय रामचन्द्र साहको अध्यक्षतामा भएको बैठकमा पार्टीका महासचिव देव गुरुङ, उपमहासचिव तथा मधेस प्रदेश इञ्चार्ज मातृका यादवले पार्टीलाई एकढिक्का बनाएर मधेसमा पुर्नजागरण गर्नका लागि सबै नेता कार्यकर्ताहरुलाई निर्देशन दिए।