ज्ञान कुमार राय
सिरहा, १० साउन। सिरहाको गोलबजार नगरपालिका २ लालपुरस्थित गागनखोला सामुदायीक वन उपभोक्ता समितिका निश्चित पदाधिकारीहरुले वन कार्यालयका कर्मचारीलाई प्रभावका पारेर अन्धाधुन्द रुख काटेको उपभोक्ताले आरोप लगाएको छ। वन कार्यालयले अनुमति दिएको भन्दा बढी रुख कटान गरी ती पदाधिकारीहरुले अन्यत्र बेचविखन गरेको उनीहरुको आरोप लगाएको हो।
स्थानीय उपभोक्ता विशेश्वर महतोले वन समितिका अध्यक्ष रामश्वरुप महतो र कोषाध्यक्ष रमेश साहले वन कर्मचारीलाईसमेत प्रभावमा पारेर जथाभावी रुख कटान गरेको आरोप लगाए। उनले वनले दिएको अनुमतिभन्दा धेरै रुख कटान गरेर रातारात ठेकेदारलाई बेचेको आरोपसमेत लगाए। उनले भने, ‘हामीले वनक्षेत्रबाट ढलापडा रुख दाउरा निकाल्ने भनेपछि सहि छाप गरिदियौं। पछि उहाँहरुले काँचो रुखसमेत काटेको पाईयो। त्यहाँ काटीका सवै रुखहरुका टुनहरु अहिले गायव भएको छ। त्यो सवै रातारात ठेकेदारलाई बुच्नु भयो। हामीले त्यसैको खोजिविन गरी पाउँ भनेको हो।’
अर्का उपभोक्ता नथुनी रायले २०४४ सालदेखि हामीले यहाँ वन लागायौं। यो विचमा उपभोक्ता समितिले दुई तीन पटक काठ कटान गरेर बेचेपनि त्यसको हिसाव किताव अझैसम्म पारदर्शी नगरेको बताए। उनले भने, ‘यस वन समितिका सदस्यहरु आम उपभोक्तालाई झुक्याएर बेला बेलामा यसरी नै रुख कटान गरेर बेचविखन गरेर आफै मोटाउने काम गरिरहेका छन्। यो पटक पनि त्यहि रवैया दोहर्याउन खोल्दै छन्।’
यसरी मनमानी ढङ्गले रुख काट्ने र निश्चित व्यक्तिले झ्वाम पार्ने परम्परा रोकीनु पर्ने उनीहरुको भनाई रहेको छ। उनीहरुले वनले नम्वर लगाएको सुकेको रुख छोडेर काँचारुखहरु काटेको बताए। काटीका धेरैरुखहरुका ठुटाहरुमा नम्वर नदेखिनुले पनि समितिले बदमासी गरेको पुष्टि गरेको छ।
अर्का उपभोक्ता राजु पुलामीले भने अपारदर्शी ढङ्गले रुख कटान गरेको आरोप लगाए। उनले वनबाट रुख निकाल्न आम उपभोक्ता भेला गर्नु पर्ने भएपनि समितिको बैठक समेत नराखी रुख कटान गर्ने निर्णय गरेको बताए। उनले भने, ‘वनबाट धेरै रुख निकाल्नु पर्ने छ। धेरै रुखहरु सुकेका छन्। तर, उपभोक्ता समितिले नियम मिचेर अपारदर्शी ढङ्गले दुईजना व्यक्ति बसेर माईनट लेखि घर घरमा गएर सहि गराएको छ। यो कार्यले नै उहाँहरुको कामप्रति आशंका उब्जिन्छ।’
यस भनाईलाई पुष्टि गर्दै समितिका सदस्य मिना रायले बैठक नै नबसी एक्कासी घरमा सहि गराउन माईनट ल्याएको बताए। उनले भने, ‘बैठक नबसी एकैपट रमेश बाबु (रमेश साह कोषाध्यक्ष)ले माईनट लिएर आउनु भयो। मैले पनि केही अपठेरो त पर्दैन नी? सोधेरै सहि गरिदिएँ, मलाई बैठक बसेको जानकारी छैन।’
लुकाएर माईनल बनाएको मात्र हैन, वनले दिएको इजाजतभन्दाबढी रुख काटेको आरोप लगाएको छ।
डिभिजन वन कार्यालयले ८९ वटा खयर र ६५ वटा सिशौका रुखहरु काट्ने अनुमति दिएको छ। तर, वन कार्यालयका कर्मचारीलाई नै प्रभावमा पारेर खयरका रुखमात्र एक सय ५० भन्दा बढी काटीको उनीहरुले बताए। त्यतिमात्र हेन ढला पडा संकलन गर्ने भनेपनि काँचो रुखहरुसमेत काटीएको दावी गरे।
गागनखोला सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष रामश्वरुप महतोले समूहको कार्ययोजना र उपभोक्ताको सल्लाहमै ढलापडा रुखहरु संकलन गरिएको बताए। ‘हामीले सवै प्रकृया पुरा गरेर काम गरेका छौं, त्यसका कुनै गलत मनसाय छैन।’ अध्यक्ष महतोल भने, ‘समूहको आफ्नै कार्य योजना हुन्छ। त्यहि कार्य योजना अनुसार काठ निकालिएको हो। हामीले त्यसमा कुनै वदमासी गरेका छौनौं। हामीलाई लगाएको आरोप सवै मित्थ्या हुन्।’
वन कार्यालयका एक कर्मचारीले हामीलाई भन्दा उपभोक्ता समितिसँगै सवैकुरा बुझ्दा राम्रो हुने बताए। उनले भने, ‘समूहकै केही व्यक्तिहरु असन्तुष्ट हुनुहुँदो रहेछ। उहाँहरुले हामीसँग भन्दा पनि गाउँमै बुझ्दा राम्रो हुन्छ।’
यस सम्वन्धमा बुझ्न जिल्ला वन कार्यालयका प्रमुखसँग पटक पटक फोन सम्पर्क गरेपनि उठेन।