रामनारायण ठाकुर
मिर्चैया, ८ साउन। सिरहाको मिर्चैयामा साईकल दुर्घटनाका कारण एक बालकको मृत्यु भएको छ। अर्का एक बालक घाइते भएका छन्। मिर्चैया नगरपालिका ५ स्थित ‘मिर्चैया हिल पार्क’ साइकलमा घुम्नजाने क्रममा दुर्घटनामा परी स्थानीय केशव मण्डलका १३ वर्षीय छोरा अभिषेक मण्डलको मृत्यु भएको हो। सोही साईकलमा सवार अर्का बालक बिष्णु ठाकुरका १२ वर्षीय छोरा बिकाश ठाकुर घाईते भएका हुन्।
विद्यालय छुट्टीपछि उनीहरु दुवैजना मिर्चैया ५ स्थित जय बजरंगबली सामुदायिक वन तथा जिवा ठाकुर सामुदायिक वन क्षेत्रमा रहेको ‘मिर्चैया हिल पार्क’मा घुम्न जाने क्रममा ओरोलो बाटोमा साइकलको गति नियन्त्रण हुन नक्दा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ। साइकलबाट लडेर टाउकोमा गम्भिर चोट लागेका मण्डललाई उपचारको लागि लाने क्रममा बाटोमै मृत्यु भएको उनका आफन्तले जनाएको छ। ठाकुरको भने मिर्चैया अस्पतालमा उपचार भईरहेको छ।
प्रहरीले घटनाकाका सम्वन्धमा अनुसन्धान गरिरहेको छ। स्थानीयले भने पार्कमा घुम्न आउने बाटो अपठ्यारो भएकाले यहाँ घुम्न आउनु पर्यटकलाई समेत असहज हुने गरेको छ।