धरानका नवनिर्वाचित नगरप्रमुख हर्क साम्पाङ जन्मिनुभन्दा पहिले नै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको निधन भइसकेको थियो । खोटाङमा जन्मिएका नगरप्रमुख साम्पाङ धरानमा आफैं पनि पढे, केही दिन अरूलाई पनि पढाए र त्यसपछि अवसरको खोजीमा अफगानिस्तानदेखि इराकसम्म भौंतारिएर ‘केही गरेर देखाउन’ पुनः कर्मथलोमा फर्किए ।
उनले नेकपा–मसालका महामन्त्री मोहनविक्रम सिंहले लेखेको ‘गद्दार पुष्पलाल’ पुस्तिकाको चर्चा सुनेका होलान्, पढेका पनि हुन सक्छन्, तर त्यस प्रकाशनको दुष्प्रचारले उनलाई प्रभावित गरेको कुरा पत्याउन कठिन छ । अपवाद नहुने त होइन, तर सन् १९७० को मध्यदेखि सन् १९८० को मध्यका बीच जन्मिएका ‘जनमत पुस्ता’ भनिने जमातका युवाहरूमा शीतयुद्धताकाका वैचारिक विवादहरूमा खासै रुचि रहेको देखिँदैन । राजा महेन्द्रको उग्रराष्ट्रवाद (जिन्गोइज्म), देशाहंकार (शोभनिज्म) एवं अन्य–घृणा (जेनोफोबिया) बाट बल्लतल्ल उम्किएर राजा वीरेन्द्रको नृजातीय राष्ट्रवाद, ‘शान्ति क्षेत्र’ कूटनीति एवं ‘विकासका लागि राजनीति’ नारा आत्मसात् गरेका जनमत पुस्ताका प्रायशः राजनीतिकर्मीहरू प्रक्रियाभन्दा परिणाममा विश्वास गर्ने गर्दछन् ।
सार्वजनिक चर्चामा मरणोपरान्त पुष्पलालको ‘कमरेड’ निरूपक झरेको छ एवं जातिसूचक ‘श्रेष्ठ’ प्रत्यय थपिन थालेको छ । कमरेड पुष्पलालको ४४ औं स्मृति दिवसको औचित्य, आवश्यकता एवं उपादेयतासँग नगरप्रमुख साम्पाङलाई खासै वास्ता हुने कुरा पनि भएन । नेकपा (एमाले) कै कतिपय युवाहरूलाई समेत तिनका हालका राजनीतिक ‘बा’ नेकपाका संस्थापक महासचिवभन्दा बढी राष्ट्रवादी, समृद्धिप्रदायक, क्षमतावान् एवं सर्वोत्कृष्ट ‘राजनेता’ लाग्दा हुन् । राजनीतिक सफलतालाई मापक मान्ने हो भने सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीको व्यक्तित्वलाई ‘महान्’ ठहर्याउन मज्जाले मिल्छ । गणतन्त्र, संघीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता सबै लोकतान्त्रिक मूल्यहरूको धूवाँधार विरोध गर्दागर्दै त्यस्ता सबै मान्यताहरूलाई संस्थाकरण गर्ने शपथ ग्रहण गरेर दुई–दुई पटक कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्न पुग्नु राजनीतिक चमत्कारभन्दा कम विस्मयकारी उपलब्धि होइन ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाह सोभियत संघको अन्तःस्फोट, बजारवादको वर्चस्व, प्रजातन्त्रको अपरिहार्यता एवं विचारधाराहरूको सन् १९९० तिर तथाकथित अन्त भएको घोषणापछि जन्मिएका व्यक्तिवादी पुस्ताका प्रतिनिधि पात्र हुन् । उनि तुकबन्दी सर्जक एवं गायक (र्यापर) छन्, स्ट्रक्चरल इन्जिनियरिङमा उच्च शिक्षा हासिल गरेका छन् एवं परामर्शदाताको सेवा प्रदान गर्ने नाफामुखी व्यवसाय पनि सञ्चालन गरिसकेका छन् । प्रारम्भिक सफलतापछि त्यसभन्दा बढी ‘केही गरेर देखाउने’ चाहना उनमा पनि पलाएको हुन सक्छ । व्यक्तिवादी पुस्ताका राजनीतिकर्मीहरू आ–आफ्ना बाउ–बाजेबाट शाह–राणा परिवारको एकलौटी शासनका गाथाहरू सुन्न त सुन्छन्, तर हतपती पत्याउँदैनन् । तिनले भोगेको जीवनका कथाहरूमा दलगत राजनीतिको अस्वस्थ प्रतिस्पर्धा, भ्रष्टाचारको विस्तार, सशस्त्र संघर्षका त्रासदी एवं विप्रेषणको आर्थिक प्रवाहले सिर्जना गरेका नव–सम्पन्नताका सूचकहरू बढी महत्त्वपूर्ण हुने गर्दछन् । व्यक्तिवादी पुस्ताको निर्क्योलअनुसार दलगत राजनीति समस्या हो र समाधान क्षमतावान् राजनीतिकर्मीहरूको स्वतन्त्र अग्रसरतामा खोजिनुपर्दछ । महानगरप्रमुख शाह नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औं स्मृति दिवसमा सहभागी भएको कुरा सार्वजनिक जानकारीमा छैन । उनी अपवाद भने होइनन् । नेपाली कांग्रेसले बीपीलाई ‘महामानव’ बनाएर उनको तस्बिर भित्तामा झुन्ड्याइसकेको छ । बिस्तरा वा टेबलबाट दराजमा पुगेका पुस्तक, मनमस्तिष्कबाट मन्दिरमा प्रतिष्ठापित गरिएका देउता एवं प्रशिक्षण कक्षबाट उठाएर चौरस्तामा ठड्याइएका महान् व्यक्तित्वका सालिकको उपयोगिता आवधिक कर्मकाण्डमा मात्र सीमित हुन पुग्दछ । बाँकी समय धूलो र धमिराले किताब पढ्छन्, पुरेत र पुजारीले देउता रिझाउँछन् र परेवाहरूले सार्वजनिक प्रतिमाको मनग्गे उपयोग गर्दछन् ।
साम्यवाद सुस्तरी असान्दर्भिक हुँदै गएकाले पुष्पलालका कृतिहरू खोजेर पनि पढ्न सक्ने अवस्था छैन । समाजवादको नारा अंगीकार गरेका भए पनि बीपी कोइराला आस्थाका हिसाबले प्रतिस्पर्धात्मक राजनीतिको उदारधारका परम्परागत प्रजातन्त्रवादी थिए । प्रजातान्त्रिक विचारधारामा परस्पर विरोधीजस्तो लाग्ने आस्थालाई एकसाथ पछ्याउन असहज नहुने रहेछ । साहित्य कर्ममा स्वयंलाई अराजक घोषित गरेका बीपी राजनीतिमा भने आफ्नै परिवारका सदस्यहरूसँग पाई–पाईको हिसाब माग्ने अनुशासक (डिसिप्लिनेरिअन) देखिन्छन् । राणा र शाह दुवै थरी निरंकुश शासकहरूका विरुद्ध सशस्त्र संघर्षको जिम्मेवारी लिन्छन्, तर शान्तिपूर्ण राजनीतिको पैरवी गर्न छोड्दैनन् । भारतीय हस्तक्षेपको सबभन्दा प्रखर विरोधी रहेर पनि भारतसँग वैमनस्य गरेर नेपालको हित सुरक्षित हुन नसक्ने कुरामा विश्वस्त देखिन्छन् । एकातिर सोसलिस्ट इन्टरनेसनलसँग सम्बद्धताले गर्दा अन्तर्राष्ट्रियताका प्रवर्द्धक देखिन्छन् भने अर्कातिर ‘राजासँग घाँटी जोडिएको’ घोषणा गरेर अन्धराष्ट्रवादको प्रमाण देखाउन कति पनि हच्किँदैनन् ।
जुनसुकै सर्त र सम्झौता गर्नुपरे पनि ठूलो र असलको साटो सफल हुनुपर्ने समसामयिक राजनीतिका बाध्यताहरूका बीच ‘राजनीति केका लागि गर्ने’ भन्ने प्रश्न गौण हुँदै गएको छ । सन् २००९ देखि २०१३ सम्म भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्ष रहेका एवं राष्ट्रिय स्वयंसेवक संघसँगको निकटताले गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीका कार्यकारी उत्तराधिकारीसमेत मान्ने गरिएका भारतका केन्द्रीय मन्त्री नीतिन गडकरीले हालसालै आफ्नै असमञ्जसलाई समेत नागपुरको एउटा सभाबाट बडो मार्मिक तवरले चित्रण गरेका छन् । उनी भन्छन्, ‘राजनीति महात्मा गान्धीको युगदेखि नै सामाजिक आन्दोलनको हिस्सा रहने गर्दथ्यो । त्यसपछि राष्ट्र निर्माण एवं भौतिक विकास राजनीतिको लक्ष्य भयो । अब त यो शतप्रतिशत सत्तामा पुग्ने र रहिरहने खेलमा सीमित हुन पुगेको छ ।’ र, थप्छन्, ‘कहिलेकाहीँ लाग्छ, राजनीति परित्याग गरेर समाज परिवर्तनका लागि अरू नै केही गरूँ ।’ ठूलो ठहरिनका लागि ‘केही गरेर देखाउने’ बाटो परित्याग गरेर ‘अरू नै केही गरेर’ भए पनि असल व्यक्ति मात्र बन्ने गोरेटो आफ्नो अन्तर्मनको इच्छाका बाबजुद बीपीले समेत आजीवन समात्न सकेनन्
महानताको उत्कण्ठा
प्रामाणिकता सन्दिग्ध भए पनि सत्य घटना भनेर व्यापक रूपमा प्रसारित कथा वा वक्तव्यलाई विप्रतिपन्न (अपोक्रिफल) भन्न सकिन्छ । नेपोलियनको सैनिक जीवनसँग सम्बन्धित यस्तै एउटा प्रचलित कथा छ । भनिन्छ, एक ज्योतिषीले उनको हातमा भाग्यरेखा नरहेको कुरा औंल्याए । लडाकु प्रवृत्तिका नेपोलियनले तत्कालै चक्कुले भाग्यरेखा कोरेर अचम्मित ज्योतिषीतिर रक्ताम्मे हात तेर्स्याउँदै सोधे रे, ‘अनि अब ?’ त्यसपछिको कथा त विप्रतिपन्न नभएर व्यक्तिको कर्मरेखाको शक्ति भाग्यरेखाभन्दा बलियो हुन्छ भन्ने प्रमाणका रूपमा इतिहासमा दर्ज छ । गोरखा थुम्कोका नायकमा मकवानपुरका शासकजस्तो प्रतापी एवं नेपाल उपत्यकाका राजाहरूलाई हराएर सम्पन्न तथा शक्तिशाली हुने महत्त्वाकांक्षा पलायो । आफ्नो भाग्यरेखा आफैं कोरेर उनि ‘बडा महाराज’ भए । सामान्य व्यक्तिहरूमा भने भाग्य बदल्ने साहस कमै मात्र देखिने गर्दछ । अधिकांश सामान्यजनले ‘आफ्नो त कर्मै यस्तै’ भन्दै यथास्थितिसँग सम्झौता गर्छन् । नियति भनौं वा प्रकृति, केही व्यक्तिहरूलाई स्थिति बदल्ने छटपटीले हतपती निदाउन दिँदैन । त्यस्ता व्यक्तिहरू आफ्नो महत्त्वाकांक्षा हासिल गर्न जस्तोसुकै सम्झौता गर्न तयार हुन्छन् । अरूको व्यवहार, जीवन पद्धति एवं कालक्रमलाई आफूअनुकूल प्रभावित वा निर्देशित गर्ने शक्तिको चाहना धेरथोर सबै व्यक्तिमा हुन्छ । त्यस्तो आभामण्डललाई व्यापक बनाउन सक्नेहरूमा मूलतः तीन थरी व्यक्ति देखा पर्छन् ।
थप शक्ति हासिल गर्दै जानका लागि मात्र शक्ति हासिल गर्न लागिपर्नेहरूसँग व्यापक मानवीय हितको कुनै बृहत् उद्देश्य हुँदैन । त्यस्तो उद्देश्यबेगरको लक्ष्यकेन्द्रित महत्त्वाकांक्षाले पनि शक्तिशाली शासकहरू उदाएका छन् । तिनले आफ्नो महत्त्वाकांक्षालाई विभिन्न आवरण भने दिन्छन् । राजा पृथ्वीनारायण ‘असिल् हिन्दुस्थाना’ योजनाका प्रवर्तक भएर स्थापित छन् । सफल ठहरिएका भए राजा ज्ञानेन्द्र माओवादी आतंकको संहारक देखिन्थे होलान् । महान् हुनलाई सफल भने हुनैपर्छ । दोस्रो थरीका महान् व्यक्तिहरू सफलताभन्दा पनि सम्मानको खोजीमा जीवन बिताउँछन् । संसारको शान्तिदूतका रूपमा स्थापित महात्मा गान्धीको जीवनलाई असफलताहरूको कथासंग्रह पनि भन्न सकिन्छ । बेलायतबाट फर्केर बम्बईको प्रतिस्पर्धात्मक वकालत पेसामा जम्न नसक्ने देखेपछि उनि बिदेसिए । दक्षिण अफ्रिकामा आफ्नो रंगभेदी अभियानले गति लिन नसक्ने भएपछि उनी फेरि भारत नै फर्किए । भारतको सामाजिक आन्दोलनमा उनीभन्दा युगान्तकारी प्रभाव भीमराव अम्बेडकरको देखिन्छ । भारतीय स्वतन्त्रता आन्दोलनलाई विभाजनतर्फ डोर्याउने पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्ना एवं विभाजित भारतको अर्थ–राजनीतिलाई युरोपेली प्रारूपको समाजवादतर्फ मोड्ने जवाहरलाल नेहरू उनीभन्दा बढी प्रभावशाली ठहरिएका छन् । आफ्ना असफलताहरूको बोझले थिचिएका महात्मा गान्धीमा सन् १९४७ पछि मृत्यु–आकांक्षा पलाएको हुन सक्छ । उनको त्यस अव्यक्त चाहनालाई फलीभूत गर्न हिन्दुत्ववादीहरू सतहमा आउँछन् । झन्डै १०० खण्डमा संकलित उनको रचनावलीमा स्वप्न, आदर्श, चाहना, उपदेश एवं चाहनाको भरमार छ । तिनलाई कार्यरूपमा लग्नका लागि शक्ति प्राप्त गर्ने महत्त्वाकांक्षा भने कतै देखिँदैन । उद्देश्यबेगरको महत्त्वाकांक्षाले शक्तिशाली बनाउँछ भने महत्त्वाकांक्षाबेगरको उद्देश्यले सम्मानित तुल्याउने रहेछ । महात्मा गान्धी शान्तिपूर्ण संघर्षका अग्रदूत मानिन्छन् भने उनले जीवन अर्पेको देश हिंसक राजनीतिको दुश्चक्रबाट अद्यापि उम्किन सकेको छैन । कला र साहित्यमार्फत महान् हुन चाहनेहरू पनि शक्तिभन्दा सम्मानको खोजीमा हुन्छन् ।
उद्देश्य र महत्त्वाकांक्षाका बीच तालमेल राख्न सक्नेहरू महान् वा सम्मानित हुन नसके पनि औसत सफलता भने धेरैजसो त्यस्तै किसिमका व्यावहारिक व्यक्तित्वहरूलाई हात लाग्ने रहेछ । रावण समृद्ध, शक्तिशाली एवं विद्वान् थिए । सीता साहसी थिइन् । लक्ष्मण प्रतापी थिए । हनुमानभन्दा बलशाली व्यक्तिको कल्पना गर्न गाह्रो छ । ऋषि वाल्मीकिले रामायणको नायक भने रामलाई बनाएका छन् । कर्ण आफ्ना अनुजहरू धर्मराज युधिष्ठिरभन्दा दानी एवं धनुर्धर अर्जुनभन्दा उत्कृष्ट लक्ष्यभेदी थिए । व्यास ऋषि भने महाभारतको युद्धमा महायोद्धा बर्बरीकका आँखाबाट कृष्ण मात्र लडिरहेको देखाउँछन् । कौटिल्यले व्यावहारिक राजनीतिका सूत्रहरू सुझाएका छन् । म्याकियाभेलीका लागि प्रक्रिया गौण हो र अपेक्षित परिणामका लागि नैतिकता, मूल्य एवं मान्यताहरूलाई स्थगनमा राख्नु अनुचित होइन । सफल व्यक्ति स्वतः महान् पनि ठहरिने भएकाले नै होला, व्यापारीहरू अर्बपति पन्ने सपना देख्छन् । केही खेलाडीहरू रमाएर मात्र होइन, जीवन र जगत्लाई बेवास्ता गर्दै आफ्नो चित्तवृत्तिमा लिप्त हुन पुग्दछन् ।
राजनीतिक शक्तिका बारेमा लर्ड एक्टनको एउटा बहु–उद्धृत पंक्ति छ- ‘शक्तिले भ्रष्ट पार्छ र स्वेच्छाचारी शक्तिले पूर्ण रूपमा भ्रष्ट बनाउँछ ।’ कथन पुरानो भए पनि त्यसको सान्दर्भिकता यथावत् छ । केही अनुसन्धानकर्मीहरूका अनुसार शक्तिले व्यक्तिलाई भ्रष्ट बनाउने मात्र नभएर भ्रष्ट प्रवृत्तिका व्यक्तिहरू प्रायशः शक्ति हासिल गर्न सफल ठहरिन्छन् । शक्तिको तृष्णा, असीमित महत्त्वाकांक्षा, कुण्ठाजन्य हिंसकता, गहिरो प्रतिशोध भाव, मनोविक्षिप्ति, आत्ममुग्धता, मर्दाङ्गी एवं साध्यले साधनको औचित्य सिद्ध गर्दछ भन्ने निश्चयात्मकताबेगर राजनीतिमा सफल हुन कठिन छ । राजनीतिलाई अस्वस्थ प्रतिस्पर्धाका दुष्प्रभावहरूबाट अपेक्षाकृत मुक्त राख्न सार्वजनिक जीवनमा केही ‘असल’ मानिस पनि चाहिन्छन् । समस्या के भइदिन्छ भने शक्तिशाली, सम्मानित एवं सफल बन्ने अखडामा ओर्लिएपछि ‘असल’ रहिरहन सम्भव हुँदैन । टिक्नलाई कि आफैं बिक्नुपर्ने वा अरू कसैलाई बेच्नुपर्ने बाध्यताले गर्दा असल व्यक्तिहरू पनि सुस्तरी औसत बन्न पुग्दछन् ।
सदाशयी कर्म
सायद सहजताका लागि होला, नेपाली शब्दकोशले ‘अनाम’ (ऐननिमिटी) विशेषणलाई अप्रसिद्धका साथसाथै दुर्नाम, बदनाम एवं कुनामजस्ता शब्दहरूको समानार्थी पद बनाइदिएको छ । तर, समाजको समग्र हितका लागि श्रेय लिन नचाहने व्यक्तिहरूको ‘प्रसिद्धि विमुक्त’ कर्म सम्भवतः नाम कमाउनका लागि गरिएका कामहरूभन्दा उच्च कोटिको योगदान हो । एक जना बेलायती दार्शनिकले प्रसिद्धिलाई बेडीका रूपमा अर्थ्याएका छन् । कीर्तिको अभिलाषामा गरिएको सुकर्मलाई स्वामी विवेकानन्दले पनि बन्धन ठहर्याएका छन् । आफ्नै सर्तमा काम गरेर नाम कमाउने एवं प्रसिद्ध भएर पनि आफ्नो स्वभावजन्य नम्रता तथा निर्भीकता छाड्न नसक्ने क्षमता असाध्यै थोरै व्यक्तिमा हुन्छ । सम्भवतः ‘प्रसिद्धि विमुक्त’ प्रवृत्ति असल व्यक्ति बन्ने प्रयत्नको पहिलो खुड्किलो हो । आजभोलि त (अ)सामाजिक सञ्जालको ‘लाइक’, ‘सेयर’ र ‘फलोअर’ पनि ख्यातनाम ठहरिने मापक बन्न थालेको छ । गुमनामीको बोझ उठाउन सक्ने कर्मशील व्यक्तिहरूको अभाव कम हुने कुनै छाँटकाँट देखिँदैन ।
सादगीको परिभाषा अनामभन्दा पनि कठिन छ । महात्मा गान्धी धोती लगाउँथे, रेलको तेस्रो श्रेणीको डिब्बामा यात्रा गर्थे र आफ्नो सरलताका लागि प्रख्यात थिए । राजाको निम्तो मान्न दरबार पुगेका बीपीलाई कोटको रंग नमिलेकाले नारायणहिटीको ढोकाबाट फर्काइएको प्रसंग नेपाली राजनीतिको असंगतिका रूपमा अंकित छ । तर, गान्धीका आलोचकहरू उनको सुरक्षाका खातिर तेस्रो श्रेणीको पूरै डिब्बा सादा पोसाकका सुरक्षाकर्मीले भर्ने गर्नुपरेको कठिनाइलाई औंल्याउँछन् । एक पटक प्रधानमन्त्री भइसकेपछि आजीवन सार्वजनिक कार्यक्रममा लबेदा–सुरुवालबाहेक अरू कुनै पहिरनमा देखिन नचाहने र देशभित्र नेपालीबाहेक अरू भाषा बोल्न अनिच्छा देखाउने गरेका बीपीको भाषा र भेषजनित आडम्बरको आलोचना गर्न नसकिने होइन । गान्धीको यात्रामा अन्तर्निहित राजनीतिक सन्देश एवं बीपीले पहिरनमार्फत देखाउन खोजेको पूर्वप्रधानमन्त्रीको औपचारिकतालाई सम्भवतः तिनको निष्कपटताको आलोकमा जाँच्नु बढी उपयुक्त हुनेछ ।
बीपीको सुषुप्त आकांक्षाअनुकूल सार्वजनिक जीवनमा रहेर असल हुन कि त असाध्यै सजिलो छ वा लगभग असम्भव । प्रसिद्धि विमुक्त कर्मशीलता, संयमित बोलीवचन एवं सादा जीवनमार्फत असल बन्ने निरन्तर प्रयत्नसम्म गर्न सकिँदो रहेछ भन्ने एउटा दृष्टान्त बद्रीविक्रम थापाको अल्प–प्रचारित वृत्तान्तमा भेट्टाउन सकिन्छ । बडा हाकिम र अञ्चलाधीश हुँदै गुठी संस्थानका अध्यक्षसमेत भएका व्यक्तिले कहिल्यै कसैको चित्त नदुखाएका होलान् भन्ने दाबी गर्न सकिँदैन । असल हुनु उपलब्धि नभएर निरन्तर प्रयत्नको कारुणिक कथा हो भन्ने यथार्थ आत्मसात् गरेका राष्ट्रसेवक बद्रीविक्रम थापाको १०० औं जन्मस्मृति दिवसमा उनको सादर स्मरण । कान्तिपुरबाट।