काठमाडौं, ३० असार।  नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको नहुने बताउनुभएकाे छ। आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै उहाँले अब उच्च शिक्षा बदल्नका लागि त्रिविकाे पुनर्संरचना गर्नु आवश्यक भएको बताउनुभयो। srijana school

पोखरेलले विश्वविद्यालयमा धेरै काम सेटिङमा हुने भएकाले प्रश्नपत्र बाहिर आउनु एउटा सानो सेटिङ मात्रै भएको दाबी गर्नुभयो । उहाँले कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयलाई 'सेन्टर एक्सलेन्स' बनाएर अन्य क्याम्पसहरूलाई प्रादेशिक विश्वविद्यालय बनाएर प्रदेश सरकारलाई चलाउन दिँदा उच्च शिक्षामा सुधार आउने बताउनु भयो। क्याम्पसका प्राध्यापकहरू राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने भएकाले शिक्षामा गुणस्तर नभएको उहाँकाे भनाइ छ। 

उहाँले भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालयका समस्या अलिअलि औषधि दिएर हल हुने अवस्था छैन । त्रिभुवन विश्व विद्यालयलाई सुधार गर्नका लागि पुनर्संरचनाको आवश्यकता छ। यहाँभित्र धेरै सेटिङ रहेको छ। त्रिभुवन विश्वविद्यालय बदल्ने भनेको उच्च शिक्षा बदल्ने भनेको हो।’                उज्यालोअनलाईनबाट।