वीरगञ्ज, १५ असार। वीरगञ्ज, १५ अषाढ। पर्साको बहुदरमाई नगरपालिका २ पिपरास्थित बहुदरमाई मन्दिर परिसरको जग्गाको स्वरुप फेरिने क्रममा छ। गत आर्थिक वर्षमा नगरपालिकाको ६० लाखको लागतमा उक्त जग्गामा माटो भरेर खेल मैदानको स्वरुप दिएको थियो। अहिले फेरी उक्त खेलमैदान पोखरीको स्वरुपमा परिवर्तन भईरहेको छ।

exavator

संयोग के छ भने गत वर्ष जग्गामा माटो भर्ने र अहिले भरिएको माटोलाई खनेर पोखरी बनाउने एउटै वडा अध्यक्ष हुन्। अर्थात यस अघिका वडा अध्यक्ष जितेन्द्र पटेल नै पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले नै माटो भरेर मेला लगाउन एवम् खेलकुदका लागि प्रयोग हुने स्वरुप दिएको जग्गा अहिले पटेलकै संरक्षणमा पोखरी बनीरहेको छ।

 

तिलावे नदिकै छेउको जग्गा भएको हुँदा स्थानीय सुनिल कुशवाहा त्याहाँ पोखरी बनाउनुको कुनै औचित्य देख्दैनन्। कुशवाहा भन्छन्, ‘तिलावे नदिसँगै टाँसीएको जग्गा छ, पहिला त्यहीबाट नदी बग्दै थियो। अहिले त्यँही पोखरी खन्दा वर्षायाममा खोलाले बगाउने निश्चित छ। पोखरी बनाउनका लागि अन्य स्थानमा पनि जग्गा छन् तर पहिला माटो भर्न ६० लाख खर्च गरेको जग्गामा अहिले ४० लाख खर्च गरेर पोखरी खन्नु पैँसाको बर्बादी मात्रै हो।’

प्रत्येक संसदीय क्षेत्रमा एउटा पोखरी खन्ने मधेश प्रदेश सरकारको नीति लिएको छ। सोही नीतिअनुरुप पर्सा क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मीको क्षेत्रमा भू–तथा जलधारा व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरले बहुदरमाई नगरपालिका २ को नाममा ४० लाखको लागतमा उपभोक्ता समितिमार्फत पोखरी निर्माणको काम शुरु गर्न परिपत्र गरेको छ। आफ्ना निकटतम झबुलाल प्रसाद कुर्मीको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति निर्माण गरेर जसरी पनि असार मसान्तभन्दा अघि नै काम सकेर भुक्तानी लिने दाउमा वडाअध्यक्ष पटेल लागेको स्थानीय नागेन्द्र यादव बताउँछन् । स्रोतका अनुसार उक्त बजेट भू–तथा जलधारा व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरबाट वडा कार्यालयको नाममा दिलाउन प्रदेशसभा सदस्य रमेश पटेलको पनि हात छ । प्रदेशसभा सदस्य पटेलले पनि उक्त योजनाबाट कमिशनबापतको रकम बुझेको स्थानीय मनोज पटेलको आरोप छ।

नगरपालिकाले मेला लगाउन र खेलकुद गतिविधि गराउनका लागि माटो भर्नुका साथै रोलिंग गरेर ६० लाख खर्च गरेको ठाउँमा पोखरी खन्नु बजेट पचाउनु बाहेक कुनै अर्थ नरहेको उनको तर्क छ।

बहुदरमाई नगरपालिकासँग कुनै समन्वय र सहकार्य नै नगरी पोखरी खन्ने काम गरेको भन्दै बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेलीले काम रोक्नुपर्ने भन्दै भू–तथा जलाधारा व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुर र जिल्ला प्रशासन कार्यालय पर्सालाई निवेदनसमेत पठाएका छन् । नगरपालिकासँग समन्वय नगरी सिधै वडा कार्यालयलाई पत्रचार गरेको हुँदा त्यसले नगरपालिकाका बिकास निर्माणका योजनामासमेत असर पर्ने हुँदा मेला लाग्ने तथा खेलककुद हुने मैदानलाई बिगारी बजेट सिध्याउने नियतले भईरहेको पोखरी खन्ने काम यथाशिघ्र रोक्नुपर्ने मेयर तेलीले पठाएको पत्रमा उल्लेख छ।

सोही वडामा रहेको शिव मन्दिर र पोखरीलाई व्यवस्थित र सौन्दर्यकरण गर्न सकिने भएपनि वडाअध्यक्ष पटेलले आफुखुशी नगरपालिकासँगको समन्वयबिना नै उक्त जग्गामा पोखरी खन्न थालेको प्रमुख तेलीको भनाई छ।

बजेट पचाउनका लागि वडाअध्यक्षदेखि प्रदेशसभा सदस्यसम्मको मिलेमतोमा काम भईरहेको भन्दै स्थानीयबासिन्दाले काम रोक्न विरोध गरेपछि प्रहरी, जनप्रतिनिधि र गाउँलेहरुको छलफलबाट काम रोक्ने सहमति भएको थियो । सहमति भएपनि राति–राति पोखरी खन्ने काम भईरहेको बहुदरमाई नगरपालिकाका प्रमुख तेलीले स्विकार गरे।

भू तथा जलाधार व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख बिपिन कुमार झालाई पनि बहुदरमाई नगरपालिकाले काम रोक्न पत्राचार गरेको छ। तर प्रमुख झा भने आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने भन्दै पन्छिरहेका छन्। बजेट उनकै कार्यालयमार्फत आएको हुँदा काम रोक्न उनलाई पूर्ण रुपमा अधिकार भएपनि पोखरी निर्माण तथा सौन्दर्यकरणका लागि निश्चित स्थानको अध्ययन र अनुसन्धान नै नगरी हचुवाको भरमा निर्माणको जिम्मा सुम्पिनु कार्यालयको कमजोरी देखिन्छ।

प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मीकै क्षेत्रमा भईरहेको कामबारे कुर्मी आफै अनविज्ञ भएको बताउँछन् । यात्रा डेलीसँगको टेलिफोन संवादका क्रममा लोसपाका प्रदेशसभा सदस्य कुर्मीले उक्त काम बारे आफुलाई कुनै जानकारी नभएको बताउँदै वडाअध्यक्ष जितेन्द्र पटेलसँग ४ वर्ष अघि नै सम्बन्ध बिग्रिएको स्पष्टोक्ति दिए । उनले भने, ‘यस विषयमा मलाई केही थाहा छैन, मलाई बिनाकाम मुछ्ने काम गरिएको छ, यसमा मेरो आपत्ति।’ तर प्रदेश सभा सदस्य रमेश पटेलकै आग्रहमा उक्त स्थान छनौट गरिएको र उनका स्वकिय सचिव शेख फिरोजले आफै उपभोक्ता समिति गठन गर्न पत्र ल्याउनेदेखि लिएर वडा कार्यालयसँग समन्वय गर्ने काम गरेको भू तथा जलाधार व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरका सरोज चौधरीले बताए।

चौधरीका अनुसार पोखरीको विषयमा विवाद सुरु भएदेखि भू तथा जलाधार व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख विपिन कुमार झाले प्रदेशसभा सदस्यसँग पोखरीको सम्बन्धमा पटकपटक कुराकानी पनि गरेका छन् । यसले प्रदेशसभा सदस्यले यस विषयमा सरासर झुट बोलिरहेको प्रष्ट हुन्छ।

वडा अध्यक्ष जितेन्द्र पटेल भने सम्पर्क बिहिन छन्। उनको मोवाईलमा पटक पटक प्रयास गर्दा पनि मोवाईल स्विच अन नभएपछि उनीसँग सम्पर्क हुन सकेको छैन। कार्यालय जाँदा पनि उनिसँग भेटघाट भएन।