सिरहा, १४ असार। चट्याङ लागेर देशका फरक फरक स्थानमा एकैदिन ६ जनाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका ३ मालाखेतीस्थित रेडियन्ट ग्याँस कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका ५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै कैलालीकै कैलारी गाउँपालिका १ रानामुराका ५६ वर्षीया सुगपंखीदेवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ। चट्याङ् लागेर घाइते भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
कञ्चनपुरको पुर्नवास नगरपालिका ६ का ४० वर्षीय देपेन्द्र श्रेष्ठ र सोही नगरपालिका ८ का २५ वर्षीया शारदा थापाको खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै रूपन्देहीको सियारी गाउँपालिका २ च्याङठाका ४५ वर्षीय रामनाथ बरईको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ। यस्तै नवलपरासी पश्चिमका सुनवल नगरपालिका ९ स्वाठी का ६० वर्षिया मराछी चौधरीको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।