सर्लाही, १७ जेष्ठ। सशस्त्र प्रहरी बल नेपाल छिन्नमास्ता बाहिनीले चालु आर्थिक वर्षको १० महिनामा ५३ करोड रुपैयाँभन्दा बढीको राजश्व संकलन गरेको छ। चालु आर्थिक वर्ष २०७८÷०७९ को १० महिनामा सशस्त्र प्रहरीले ५३ करोड ८५ लाख १८ हजार ५८० रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको हो।

मधेश प्रदेशका ८ जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा ओसार पसार भएका सामाग्री नियन्त्रणमा लिएर भन्सार दाखिला गरिएको छिन्नमास्ता बाहिनीका बाहिनी पति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश बहादुर ठाडामगरले जानकारी दिए।

छिन्नमास्ता बाहिनीका बाहिनी पति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक मगरका अनुसार सोही अवधिमा १ करोड ५२ लाख ९८ हजार ३९० रुपैयाँ बराबरका अवैध पशु चौपाया भन्सार दाखिला गरिएको छ। भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेका पशु चौपाय प्रदेशका विभिन्न स्थानबाट बरामद् गरी भन्सार दाखिला गरिएको डिआईजी मगरले बताए।

१ करोड ३९ लाख ३० हजार ९७२ रुपैयाँ बराबरको ४ हजार ३५२ दशमलव ८८ क्यूबि फिट काठ पनि सशस्त्र प्रहरीले बरामद गरेको छ। बाहिनी मातहतका विभिन्न सशस्त्र प्रहरी बल एवम् बिओपीहरुको टोलीले प्रदेशका विभिन्न स्थानबाट उक्त परिणाम बराबरको काठ बरामद गरेको हो। मधेश प्रदेशका ८ वटैै जिल्लाबाट सशस्त्र प्रहरीले २ हजार ३८४ दशमलव ९५ किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद गर्नुका साथै ६० विघा १७ कट्ठा १० धुर क्षेत्रफलमा लगाइएको गाँजा पनि फडानी गरि नष्ट पारिएको डिआईजी मगरले बताए ।

३१ दशमलव ९२ किलोग्राम चरेश बरामद गरेको सशस्त्र प्रहरीले १ सय ७३ मिलिग्राम ब्राउन सुगरसहित ३७ हजार ५२१ पिस प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सो अवधिमा २६ लाख ९८ हजार ७ ५७ बराबरको सुनचाँदी बरामद् गरिएको सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीले जनाएको छ। अवैध रुपमा ल्याइएको भारु १७ लाख ५९ हजार ७०१ भरतीय मुद्रा र २ करोड ५४ लाख १२८ नेपाली मुद्रा बरामद गरिएको सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीको तथ्यांकमा उल्लेख छ।७ लाख १४ हजार ५ सय बराबरको जाली नोट र ३३ लाख ९० हजार नक्कली पैँसा बनाउने कागज पनि बरामद गरिएको डिआईजी मगरले जानकारी दिए ।

उनका अनुसार १ हजार ३८ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । बेचबिखनमा परेका ४६ जना चेलीबेटीको उद्धारसमेत गरिएको छ भने विभिन्न अपराधिक गतिविधिमा संलग्न २ सय १३ जनालाई पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीले जनाएको छ। सशस्त्र प्रहरीले चालु आर्थिक वर्ष २०७८÷०७९ को १० महिनामा सबै गरेर ५३ करोड भन्दा बढीको राजश्व संकलन गरेको हो।