सिरहा, १६ जेष्ठ। मुलुकको ७७ वटै जिल्लामा भ्रष्टाचारको तुल्नात्मक अध्ययन गर्नेहो भने सिरहाको स्थान सम्भवतः प्रथम हुन सक्ने अड्कल वक्ताहरुले काटेका छन्। सिरहा विकास मंचको उद्घाटन कार्यक्रममा बोल्दै मंचका संयोजक तथा वरिष्ट पत्रकार रामरिझन यादवले पाँच वर्षको अवधिमा जिल्लामा जे जति विकास र निर्माणका कामहरुमा व्यापक भ्रष्टाचार भएको बताएका हुन्।

यादवले विकासका अन्य कामको तुलनामा सबैभन्दा बढी माटो र ग्र्याभेलको काममा भष्टाचार हुनेगरको तथ्य उनले औल्याए।

उनको दृष्टिमा कतिपय ठाउँमा माटोको काममा ८० प्रतिशतसम्म भ्रष्टाचार भएको तथ्याङ्क फेला पारिएको जनाए । कंक्रिटको काममा ५० प्रतिशतसम्म भ्रष्टाचारले जिल्लाको अवस्था बेहालभएको छ। यसले गर्दा विकास र निर्माणको हकमा सिरहा कतिपय पहाडी जिल्लाभन्दापनि पछाडि परको कारणले गर्दा दवाव समूहको रुपमा सिरहा विकास मंचको स्थापना गर्नु परेको आफ्नो बाध्यता उनले सुनाए।

कार्यक्रममा अवकासप्राप्त शिक्षक अनिरुद्ध ठाकुरले शिक्षा क्षेत्रमा भएको भ्रष्टाचारको उदाहरण प्रस्तुतगर्दै सिरहा नगरपालिकाभित्र यस्तो पनि विद्यालय छन् जहाँ पाँचवर्षमा एउटा पनि विद्यार्थी पढ्न गएका छैनन् तर पाँचजना शिक्षकले पाँच वर्षसम्म तलबसुविधा खाएका छन्।

अर्का वक्ता तथा मंचका वरिष्ट सदस्य रामअशिष यादवले सिरहाको स्वास्थ्यको वेथितिको बखानगर्दै एउटा सार्वजनिक शौचालयसम्म नभएका नगरपालिका सिरहामात्र होला भन्ने उनले अनुमान गरे।

यसरी विज्ञहरुले भ्रष्टाचारमाथि केन्द्रीत भएर आफ्नो विचार पोखिरहेको देख्दा नवनिर्वाचित सिरहा नगरपालिका प्रमुख डा. नवीन यादवले आफ्नो कार्यकाललाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैभन्दा पहिले भ्रष्टाचार नियन्त्रणमाथि जोड दिने विचार व्यक्त गरे। कार्यक्रममा सिरहाका प्रमुख जिल्लाअधिकारी लालबाबु कबारी, प्राध्यापक चन्देश्वर प्रसाद यादव, उप–प्रमुख बबितदेबी साह, मनोज पासवान लगायत वक्ताहरुले बोलेका थिए।

कार्यक्रमका प्रमुख अतिथि त्रिभूवन विश्वविद्यालय हिन्दी विभागका पूर्व प्रमुख प्राडा सूर्यनाथ गोपले सिरहा विकास मंचद्वारा जिल्लाका सत्रै पालिकामा बधाई शुभकामना, सान्त्वना तथा मार्गदर्शन अभियानको उद्घाटन गरे। साथै आफू क्यान्सर पिडित भएपनि सिरहाको विकासमा अग्रसर हुने व्यक्तिहरुलाई हौसला प्रदानगर्न उपस्थित भएको बताए।