वीरगञ्ज, २३ बैशाख । पर्साको पर्सागढी नगरपालिकामा राजनीतिक दलका नेतृत्व र बालबालिकाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचलाई मध्यनजर गर्दै राजनीतिक दलका प्रतिबद्धता पत्रमा बालबालिकाका सवाल र निर्वाचनमा बालबालिकाको प्रयोगका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

333
डिकेए अष्ट्रिय र पर्सागढी नगरपालिकाको समन्वयमा युवालयले पर्सागढीको बढनिहारस्थित श्री जनता मा.विमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पर्सागढी नगरपालिकास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधिहरुले निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्ने र पार्टीका घोषणा पत्रमा पनि बालबालिकाकोलागि विशेष योजना समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनता समाजवादी पार्टी पर्सागढी नगर समितिका अध्यक्ष अशोक यादवले बालबालिकाका हक अधिकारसँगै उनीहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि योजाहरु ल्याउने बताए । नेपाली कांग्रेस पर्सागढी नगर समितिका उपसभापति अक्षय प्रसाद यादवले शैक्षिक गुणस्तर बृद्धिसँगै अतिरिक्त क्रियाकलापमा जोड दिए । नेकपा माओवादी केन्द्र पर्सागढी नगर समितिका सचिव बिक्रम कार्कीले विद्यालयलाई राजनीतिकदेखि टाढा राख्नुपर्ने बताउँदै बालबालिकाको सर्वांगिन बिकासका लागि अभिभावकसँगै शिक्षकहरु पनि जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्य दिपेश नेपाले भोलीको भविष्यहरुलाई आजैदेखि प्राथमिकता दिनुपर्नेमा स्थानीय सरकारले कुनै योजना नल्याएको आरोप लगाए । जनता मा.वि.का सहायक प्रधानाध्यापक डिल्लीराम आचार्यले शिक्षाको क्षेत्रमा स्थानीय सरकारपछि पनि खासै उपलब्धी हुन नसकेको स्विकार गरे ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनीधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका शिक्षक, शिक्षिका, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको बिकास साहले जानकारी दिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।