जनकपुर, ६ वैशाख । स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ। भारतको मधुवनी जिल्लास्थित जयनगरमा आज बसेको दुबै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडीबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो।
खुल्ला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडीदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
बैठकमा सीमा वारपारको सम्बन्ध, दशगज्जाको अतिक्रमण, दशगज्जाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रण लगायतका बिषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए ।
बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले गरेका थिए भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गरेका थिए।
सो बैठकमा प्रजिअ पौडेलसहित सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल लगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।