सिरहा, २ वैशाख । मधेस प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ। प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि घरका ठूलाबडाले परिवारका अन्य सदस्यको शिर (टाउको) मा जल थपथपाएर आर्शीवाद दिने गरिन्छ।
जुडशीतलको अवसरमा बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिर पानीले भिजाई आर्शीवाद दिँदै पर्व मनाउन आज पनि सुरु भइसकेको छ।
यस पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् प्रगति होस् भन्ने ठूलाबडा आशीर्वाद दिने चलन छ। आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ।
गर्मियाम सूरुभएसँगै सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो।
नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास छ।
आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरिएको छ।
आजको दिन मधेस क्षेत्रमा विशेष परिकारका साकाहारी भोजन बनाएर खाने चलन पनि यस पर्वमा छ।
आजकै दिन कतिपय ठाउँहरुका चना, जौ, मकैका सातु वनाएर खाने चलन छ । गर्मियाममा शरीर शितल राख्ने स्वस्थ रहने सातु खाने परम्रा रहँदै आएको छ। यो कतिपय ठाउँमा यो पर्वलाई ‘सतुवाइन’ पनि भनिन्छ।
जुडशीतलको अवसरमा मधेस प्रदेश भर आज सार्वजनिक बिदा दिइएको छ।