सिरहा, १ वैशाख । आज विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनको रुपमा मानिन्छ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। यस्तै, आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ।
आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ। आज धेरैले गएको वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्दछन्। आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिस्ठान्न भोजन बनाएर खाने चलन छ।
नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ। नयाँ वर्षको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आउँदो यात्रा तय गर्न आवश्यक रहेको बताए। हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उनको जोड छ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गएको वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोस, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका लागि जुट्न आग्रह गरेको छ।
समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वेपरि लक्ष्य रहेको भन्दै उहाँले यस साझा लक्ष्यलाई प्राप्त गर्न सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचार र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने बताए। नयाँ वर्षका अवसरमा सभामुखलगायत अन्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना दिएका छन्।