सिरहा, २५ चैत । सिरहाको एक पालिको कर्मचारीले लाखौं आन्तरिक राजश्वबाट उठेको रकम हिनामिना गरेको रहस्य खुलेको छ । जिल्लाको विष्णुपुर गाउँ पालिकाका नायव सुब्बा महेन्द्र प्रसाद यादवले आर्थिक वर्ष ०७७/७८ मा संकलन भएको ३४ लाख २३ हजार ७ सय ९० रुपैयाँ हिनामिना गरेको खुलेको हो ।

ban bigyapan
राजस्व शाखामा कार्यरत यादवले २०७७ साउन १ गते देखि २०७८ असार ३१ गतेसम्म एक वर्षको अवधिमा संकलन भएको ५५ लाख २७ हजार ७७ रुपैयाँमध्ये अझै ३४ लाख २३ हजार ७ सय ९० रुपैयाँ अझै बैंक दाखिला नगरेको प्रमुख प्रशासकिय अधिकृत दीप कुमार यादवले जानकारी दिए । उनले आफू भर्खरै यो जिम्मेवारीमा आएकोले धरै कुरा थाहा नभएपनि राजस्व रकम बैंक दाखिला नभएको पाईएपछि आफूले तुरुन्त आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ बमोजिम २५ प्रतिशत जरिवाना सहित ४२ लाख ७९ हजार ३ सय ३७ रुपैयाँ दाखिला गर्न गत चैत १५ गते तत्काल रकम जम्मा गर्न निर्देशन सहितको पत्र काटेको जानकारी दिए ।
हिनामिना गर्ने कर्मचारीको नाममा रकम बुझाउन पत्र काटेको १० दिन वितिसक्दा पनि अझै रकम जम्मा भएको छैन ।
उनले महालेखा परीक्षणको क्रममा यो कुरा जानकारी हुनासाथ आफूहरुले उनलाई पटक पटक ताकेता गरेको पनि जानकारी दिए ।
यता नासु महेन्द्र प्रसाद यादवले प्रशासनिक रुपमा आफू दोसी भएको स्वीकार गरेको छ । उनले प्रशासनिक हिसावले मैले जिम्मेवारी लिनु पर्छ तर यो रकम आफूले गाउँ पालिका अध्यक्ष जागेश्वर यादवलाइ दिएको जनाए । उनलेभने, ‘मैले त्यसरी गर्नु हुनथिएन । तर अध्यक्षले काम छ ल्याउन पछि मिलाउँला भन्दै रकम लिनुभयो, अहिले म समस्यामा परें ।’
यता अध्यक्ष यादवले कर्मचारीले मलाई फसाउन खोजेको आरोप लगाए । अध्यक्ष यादवले भने, ‘मैले कोही कर्मचारीसँग कुनै पैसा लिएको छैन । कर्मचारीहरुले मलाई फसाउन र बदनाम गर्न खोजेको छ । म यो भन्दा बढि अहिले केहि भन्दीन । पछि पत्रकारहरुलाई बोलाएरै सत्यतथ्य सार्वजनिक गर्छु ।’
घटना सार्वजानिक भएलगतै पालिकाको एक वडा अध्यक्षले कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहालाई जानकारी गराएका थिए । जानकारी पछि कोलेनिकाले पालिकाको खाता रोक्का गरेपनि अध्यक्ष आफै आएर तत्काल रकम जम्मा गर्ने प्रतिबद्धता जनाउँदै खाता खोल्न लागाएको एक कर्मचारीले जानकारी दिए । तर, अझै रकम जम्मा नभएको उनले सुनाए ।