वीरगञ्ज, २४ चैत । फर्जी रसिद काटेर स्नातक र स्नातकोत्तरमा विद्यार्थी भर्ना गरेको घटना प्रकाशमा आएको छ । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसकै नगदी रसिद जस्तै फर्जी रसिद छपाएर वीरगञ्जकै धर्मेन्द्र मिश्राले विद्यार्थी भर्ना गरेको पाइएको हो ।
रसिद भएपनि क्याम्पसको आधिकारीक रसिद नभएको भन्दै विद्यार्थीहरुले क्याम्पसमा प्रवेश नपाएपछि घटना सतहमा आएको हो ।
क्याम्पस प्रशासनकै मिलेमतो र राजनीतिक आडमा मिश्राले क्याम्पसकै जस्तो रसिद छपाएर ८० जनालाई भर्ना गरेको पाइएको छ । यसअघिदेखि नै मिश्राले बाहिरका विद्यार्थीलाई फर्जी रसिद दिएर स्नातक र स्नातकोत्तर तहमा भर्ना गर्ने गरेको पाइएको छ ।
क्याम्पसको रसिद छपाएर भर्ना भएको क्याम्पसका प्रमुख डा. उमेशप्रसाद चौरसियाले स्विकार गरेका छन् । क्याम्पस प्रमुख चौरसियाकै संयोजकत्वमा लेखा प्रमुख गुन्जन सिंह र परीक्षा शाखा प्रमुख मोहन यादव सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेर छानबिन थालिएको प्रमुख चौरसियाले बताए ।
छानबिनपछि क्याम्पसको रसिद दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने चौरसियाको भनाई छ ।