वीरगञ्ज, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको जगरनाथपुर गाउँपालिकामा छापा मारेको छ । कोरोना भाइरस महामारीको समयमा विपन्न परिवारलाई राहत वितरण गर्न नेपाल सरकारले पठाएको अनुदान रकम दुरुपयोग गरेको भन्ने सूचनाका आधारमा छानबिन गर्न अख्तियार टोली जगरनाथपुर पुगेको हो ।
सञ्चारमाध्यमहरुमा ‘कोरोना प्रभावित विपन्नको अनुदान रकम शिक्षक र स्वास्थ्यकर्मीको तलबदेखि कर्मचारीलाई सापटी दिनेसम्ममा दुरुपयोग’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि छानबिनका लागि अनुसन्धानका प्रहरी नायव उपरीक्षक गणेश बराल नेतृत्वको टोली पुगेको आयोग कार्यालय हेटौडाका सूचना अधिकारी बिष्णु प्रसाद सापकोटाले जानकारी दिए ।
उनले अहिले कार्यालयबाट विभिन्न कागजपत्र नियन्त्रणमा लिइएका छौं; कागजपत्रको अध्ययन पछि थप विवरण आउने बताए ।
पुस अन्तिम साता जगरनाथपुर गाउँपालिकाको कार्यालयमा केन्द्र सरकारले कोभिड प्रभावित परिवारलाई जनही १० हजार रुपेयाँका दरले वितरण गर्न लागि ८८ लाख रुपैयाँ पठाएको थियो । तर, गाउँ पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले उक्त रकम, कोभिड प्रभावितलाई वितरण नगरी स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउने देखि कर्मचारीलाई सापटी दिएर हिनामिना गरेको आरोप छ ।
उक्त रकम कोभिड प्रभावित परिवारलाई वितरण गरिसकेको रिपोर्ट गाउँपालिकाले केन्द्रमा पेश गरिसकेको भएपनि त्यहाँका कोभिड प्रभावित कसैले पनि उक्त रकम पाएका छैनन् ।
अनुदानको रकम शिक्षकको चौमासिक तलबमा खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहले स्वीकार गरे । कुशवाहका अनुसार ८८ लाख मध्ये २४ लाख रुपैयाँ गाउँपालिकाका तत्कालीन स्वास्थ्य शाखा संयोजक रामसिकिल साहलाई सापटी दिइएको छ । सापटी लिएका साहको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
पालिका अध्यक्ष जालिम मियाँले भने उक्त रकमबारे सबै जिम्मेवार प्रमुख प्रशासकिय अधिकृतलाई नै थाहा भएको भन्दै पन्छिन खोजेका छन् । प्रमुख प्रशासकिय अधिकृत कुशवाहले भने अनुदानका लागि कसैले पनि आवेदन नदिँदा अन्य शीषर्कमा खर्चिएको बताएका छन् ।