वीरगञ्ज, २७ फागुन । वीरगञ्जका उद्योगी व्यवसायीहरुले बारा पर्सा औद्योगिक क्षेत्रलाइ औद्योगिक कोरिडोरको रुपमा घोषणा गर्नुपर्ने माग गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार वीरगञ्ज आएका प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर यहाँका उद्योगीहरुले औपचारिक रुपमै औद्योगिक कोरिडोर घोषणा गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री देउवालाई भेटेर पर्सा बारामा मुलुककै प्रमुख औद्योगिक क्षेत्र सञ्चालनमा रहेपनि अहिलेसम्म सरकारले औद्योगिक कोरिडोर घोषणा नगर्दा उद्योगधन्दा फस्टाउन नसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले बताए ।
वीरगन्जदेखि पथलैयासम्म रहेका औद्योगिक क्षेत्रलाई, औद्योगिक कोरिडोरको लागि चाहिने सम्पूर्ण सेवा सुविधासहितको औद्योगिक कोरिडोरको घोषणा गर्न अध्यक्ष डा. गुप्ताले आग्रह गरेका हुन् ।
यसअघि औद्योगिक क्षेत्रमा स्थापित औद्योगिक सुरक्षा बल, निजी क्षेत्रलाई जानकारी नै नदिइ हटाइएकोमा आपत्ति जनाउँदै पुनः औद्योगिक सुरक्षा बल स्थापना गर्नुपर्ने उद्योगी व्यवसायीको भाग छ ।
प्रधानमन्त्रीसँगको भेटमा यहाका उद्योगहीरुले तराई मधेस–काठमाण्डौं द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयसीमा नै तोकेर सम्पन्न गरिदिन आग्रह पनि गरे । प्रमुख नाकामा रहेको मितेरी पुलको पुर्ननिर्माण र विस्तार गरी सौन्दर्यकरण गरिदिन पनि उनीहरुको माग छ ।
उद्योगीहरुको आग्रह र सुझाव सुनेर प्रधानमन्त्री देउवाले वीरगञ्जका निजी क्षेत्रको आग्रह र सुझावप्रति आफू गम्भिर रहेको जवाफ दिए ।
संघीय सरकारको आगामी बजेट एवम् नीति तथा कार्यक्रममा वीरगञ्जका उद्योगीहरुको गुनासो र सुझावहरु सम्बोधन गरिने देउवाले आश्वासन दिए । प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्न, तरलता अभाव हटाउन, ब्याजदरमा स्थिरता कायम गर्न, विदेशी मुद्राको सञ्चिती गर्ने लगायतका विषयमा उद्योगी व्यवसायीहरुसँग अझ गहन छलफल गरेर अर्थ व्यवस्था सन्तुलित बनाउने पनि प्रधानमन्त्री देउवाको भनाई छ ।
बिहीबारको भेटघाट कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्वअध्यक्ष अशोक टेमानी र अशोककुमार वैद्य, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल लगायतको सहभागीता थियो ।