वीरगञ्ज, २६ फागुन । सरकारले कोभिडबाट प्रभावित उद्योगलाई पुर्नस्थापना र पुर्नजिवन दिने प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिबद्धता जनाएका छन् । वीरगञ्जमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै प्रम देउवाले कोभिड १९ को प्रभावका कारण थला परेका घरेलु, लघु र साना उद्योगहरूको लागि विशेष योजना ल्याउने प्रतिबता जनाएका हुन् ।
स्वदेशी श्रम, सीप, पुजी र कच्चा पदार्थको उच्चतम प्रयोग गरी निजि क्षेत्रले रोजगारीको सृजना गरीरहेकोमा सह्राना गर्दै नेपाल काँग्रेसका सभापति समेत रहेका प्रम देउवाले निजी क्षेत्रको सहभागिताबाट मात्रै मुलुकको दिगो विकास र आर्थिक समृद्धि सम्भव हुने बताए ।
निजी व्यवसायीहरुलाई लगानीका लागि सहज वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको देउवाको भनाई छ । महिला सशक्तिकरणका लागि महिला उद्यमशिलता विकास गर्ने योजना पनि उनले अघि सारेका छन् ।
खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले देशको समृद्धि र विकासका लागि घरेलु तथा साना उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए ।
मधेश प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले बंैङ्कींग क्षेत्रदेखि अन्य क्षेत्रमा पनि ठूला तथा साना व्यवसायीबिच विभेद हुने गरेको बताए ।
उद्घाटन सत्रमा नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, प्रदेश सभा सदस्य प्रकाश रावल, उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेल लगायतको सहभागिता रहेको थियो ।
२ लाख ७० हजारभन्दा बढीको हाराहारीमा रहेका घरेलु तथा साना उद्योगले झण्डै २७ लाख जनशक्तिलाई रोजगारी दिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिए ।
ठूलो जनशक्तिको आधार स्तम्भ भएर पनि घरेलु तथा साना उद्योग सधैँ उपेक्षित रहेको गिरीको दुखेसो छ ।
महाधिवेशनमा ७७ वटै जिल्लाका महासङ्घका प्रतिनिधि र पर्यवेक्षक गरी १५ सयभन्दा बढीको सहभागिता रहेको छ ।