वीरगञ्ज, २६ फागुन । प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचन सम्म पनि गठबन्धले नै निरन्तरता पाउने संकेत गरेका छन् । एक्लै कसैले पनि बहुमत ल्याउन नसक्ने ईंकित गर्दै गठबन्धनलाई नै निरन्तरता दिने देउवाको धारणा छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक्लै चुनाव लड्न सक्ने अवस्था नरहेको बताए ।
नेपाली काङ्ग्रेसका सभापति समेत रहेका देउवाले एमसीसी कुनै ऋण नभएर अनुदान भएको बताए । नेपाली काँग्रेसकै अग्रसरतामा पारित भएको एमसिसीले देशमा विकास र रोजगारको सृजना गर्ने प्रम देउवाको भनाई छ । उनले भने, ‘एमसिसी पास भएको छ । यसले हाम्रो देशको आर्थीक विकासमा सघाउ पुग्ने छ । राष्ट्रिय आवश्यक्तालाई मध्यनजर गरेरै एमसीसी पारित भएको हो ।’
देशको जटिल परिस्थितीलाई पार लगाउन प्रधानमन्त्री हुने चाहना नभएर पनि प्रजातन्त्रको मूल्य मान्यतालाई बचाइ राख्न प्रधानमन्त्री भएको देउवाको भनाई छ । सहमति र सहकार्य गरेर अगाडी बढ्नुको विकल्प नरहेको बताउँदै प्रम देउवाले गठबन्धनका साथीहरुलाई बिना काम जिस्क्याउने काम नगर्न पनि सुझाव दिएका छन् । देउवाले थपे, ‘जहाँ जहाँ सकिन्छ, सहकार्य गर्दै गठबन्धन गरेर अगाडी बढौँ, गठबन्धनका साथीहरुलाई सशंकित पार्ने काम नगरौँ ।’
नेपाली काँग्रेस पर्साका निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य रमेश रिजालले मधेशमा फोरमको आतङ्क र पहाडमा कम्युनिष्टको बर्चस्वका बाब्जुद पनि काँग्रेसका कदमहरु नरोकिएको बताए ।
आगामी निर्वाचनमा स्थानीयदेखि संघियसम्म काँग्रेस नै बिजयी हुने दावी गर्दै रिजालले निर्वाचनको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
झण्डै दुई तिहाईको कम्युनिष्ट सरकारको जटिल परिस्थितीलाई पार लगाउन पनि काङ्ग्रेसकै सहारा लिनुले काँग्रेस अझै सशक्त भएको आभाष अर्का केन्द्रिय सदस्य अजय चौरसियाले गरेका छन् । आपसी तिक्तताको परिणाम जनताले नभोगुन भन्नका लागि देउवाकै पहलमा परिस्थितीले कोल्टो फेरेको चौरसियाको भनाई छ । पूर्व मन्त्री सुरेन्द्र चौधरीले राजनीतिक जटिल अवस्थामा भएको बेलामा काँग्रेस नै आवश्यक पर्ने पटक पटकको घटनाले पुष्टि गरेको बताए ।
नेपाली काँग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पतीकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको समारोहमा पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियार लगायतले नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।