सिरहा, २० फागुन । नेपाली कांग्रेस सिरहाको अधिवेशन स्थान विवादका कारण दुवै गुटले छुट्टाछुटै अधिवेशन उद्घाटन गरेको छ । गोलबजार र सिरहा गर्ने विवादकै बीच आज १४ औँ सिराहा अधिवेशनको सभापति रामचन्द्र यादव समूहले गोलबजारमा र अर्का सभापतिका आकांक्षी रामसुन्दर चौधरी पक्षले सिराहा सदरमुकाममा अधिवेशन उदुघाटन गरेको हो ।
सभापति यादव गुटले गोलबजारमा आयोजना गरेको उद्घाटनमा नेपाली कांग्रेसकां केन्द्रीय सदस्य चित्रलेखा यादव, प्रदेश महामन्त्री उपेन्द्रकुमार यादव, पूर्वसांसद मोहम्मद मुक्तार अहमदलगायत सहभागी भएका थिए ।
सभापतिका अर्का आकांक्षी रामसुन्दर चौधरी समूहले सदरमुकाम सिरहाको जिसस समीक्षालयमा आयोजना गरेको उद्घाटन सत्रमा कांग्रेस पूर्वकोषाध्यक्ष सीतादेवी यादव, प्रतिनिधिसभाका सदस्य पद्नारायण चौधरी, पूर्वसांसद अमियकुमार यादवलगायतको उपस्थिति रहेको थियो । सभापति आकांक्षी चौधरीलाई कांग्रेसका नेता तथा प्रतिनिधीसभा सदस्य प्रदीप गिरीको समर्थन रहेको छ ।
फरक–फरक स्थानमा उद्घाटन भएपनि निर्वाचन अधिकृत सञ्जिव लामाले गोलबजारमै शुक्रवार कार्यालय स्थापना गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय गोलबजारले शुक्रबार मतदाता नामावली प्रकाशन, दाबीविरोध र छानबिनसहित अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको छ । यस्तै शनिबार (फागुन २१) उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, उम्मेदवारको प्रथम सूची प्रकाशन गर्ने तालिका तय गरेको छ । फागुन २२ गते उम्मेदवारको दाबीविरोधमा उजुरी दिने, फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको छ । यस्तै फागुन २३ गते सोमबार मतदानको कार्यक्रम रहेको निर्वाचन अधिकृत संजीवकुमार लामाले बताए ।
गोलबजारमा निर्वाचन गर्नेभनेपनि स्थानको विषयमा अझै टुङ्गो नलागेको निर्वाचन कार्यालयले जनाएको छ । दुवैपक्षसँग सल्लाह गरेर कुन ठाउँमा गर्ने भन्ने टुङ्ग्याउने निर्वाचन कार्यालयले जनाएको छ ।
सिराहा जिल्ला अधिवेशनमा नेपाली कांग्रेसका दुई हजार ६ सय ५० सय मतदाता रहेका छन् ।