वीरगञ्ज, २० फागुन । नेपाली कांग्रेसको बारामा त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ । बारामा जारी पार्टीको १४ औँ अधिवेशन अन्तर्गत सभापति पदका लागि तिन जनाले छुटाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसको आन्तरिक विवाद, कोरोना महामारी लगायतका कारणले स्थगित हुँदैै आएको पार्टीको नयाँ नेतृत्व चयनका लागि अन्ततः शनिबार निर्वाचन हुने भएको छ ।
शनिबार हुने निर्वाचनमा जिल्लाका वरिष्ठ नेता शम्भु बहादुर बुढाथोकी, कलैया उपमहा नगरपालिकाका मेयर राजेश राय यादव र क्षेत्र नम्बर ३ का नेता रामानन्द यादवले उम्मेदवारी दिएका छन् । जिल्ला सभापतिका आकांक्षीमध्ये संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय यादव छन् । रामानन्द यादव शेखर कोइराला पक्षका एकल प्रतिस्पर्धि हुन् ।
तिनै जनाले आफु विजयी हुने दावी गरेपनि बुढाथोकी केन्द्रदेखि स्थानीय तहसम्म पकड बनाएका नेताहरुको साथ पाउँदा जित्ने संभवाना प्रबल देखिएको छ ।
उनलार्ई कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुर, प्रदेश समितिका उपसभापति चन्द्र शेखर यादव, संविधानसभा सदस्य रामअयोध्या यादव, जिल्ला सभापति जयचन्द्र प्रसाद चौरसिया, क्षेत्र नम्बर ३ का सभापति प्रभात चौरसिया, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव र सिम्रौनगढ नगरपालिकाका मेयर तथा क्षेत्र नम्बर १ का सभापति विजय शंकर यादव लगायतका नेताहरुले साथ् दिरहेका छन् ।
बुढाथोकीको प्यानलबाट उपसभापतिमा अमिरीलाल राउत, देवेन्द्र उपाध्याय, सचिवमा भैयाराम प्रसाद यादव र राजेन्द्र जयसवाल, सह–सचिवमा कृष्णदेव प्रसाद जयसवाल र प्रमोद प्रसाद यादवले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, शेखर कोइरालाको समर्थन पाइरहेका रामानन्द यादव पार्टीको गत अधिवेशनबाट सभापतिमा पराजय भोगेका व्यक्ति हुन् । यद्दपी उनीसँग खानेपानी मन्त्री तथा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीको साथ छ । प्रदेशसभाको निर्वाचनमा समेत पराजय भोगेका रामानन्दको पक्षमा संविधानसभा सदस्य लालबाबु सिंह भूइहार, जिल्ला विकाश समितिका पूर्व सभापति राजेन्द्रप्रसाद यादव, निजगढ नगरपालिकाका मेयर सुरेश खनाललगायत नेता पनि उभिएका छन् ।
रामानन्द प्यानलको उपसभापतिमा पेमा सिद्धि लामा र मनोज भट्ट, सचिवमा विजय गुप्ता र राजेश रौनियार र सह–सचिवमा राजेश कुमार सिंह र सोभि मण्डललाई उम्मेदवार बनाइएको छ ।
यता, कलैया उपमहा नगरपालिकाका मेयर राजेश राय यादवले आफ्नो बुवा संविधानसभा सदस्य राधेचन्द्र यादवको राजनीतिक विरासतको आधारमा सभापति पदमा दावेदारी गरेका छन् । उनलाई दुई जना क्षेत्रीय सभापतिले साथ दिइरहेका छन् । क्षेत्र नम्बर २ का सभापति रामप्रवेश यादव र क्षेत्र नम्बर ४ का सभापति सुनिल गुप्ताले राजेश राय यादवलाई साथ दिइरहेका छन् । उनले केन्द्रीय र प्रादेशिक स्तरका नेताको समर्थन भने खासै पाएका छैनन् ।
राजेश राय यादवको प्यानबाट उपसभापतिमा यमुना प्रसाद कानु र अजय साह तेली, सचिवमा रामेश्वर यादव र अब्दुल हाकिम अन्सारी र सह–सचिवमा नारायण अधिकारी र श्रवन चौधरीलाई उम्मेदवार बनाइएका छ ।
यद्दपी, बुढाथोकीभन्दा यादवद्वय कम्जोर देखिएपनि पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउने सम्भावना नरहेको जिल्लाको राजनीतिक विश्लेषकहरुको भनाई छ । पहिलो चरणबाट यादवद्वयमध्येबाट एकजना बाहिरिने र दोस्रो चरणमा सभापति बुढाथोकी र बाँकी रहेका एकजना मध्येबाट कोही सभापति चुनिने विश्लेषकहरु बताउँछन् ।
काँग्रेसको कुल २ हजार ४ सय ८० मतदाता रहेको बारामा ७ पदाधिकारी सहित ८० जनाको कार्यसमितिको लागि २ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।
जिल्लामा नयाँ नेतृत्व चयनका लागी शनिवार कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित सिद्धेश्वरी संस्कृति विद्यालयमा निर्वाचन हुने उप्रेतीले बताए ।