वीरगञ्ज, १८ फागुन । नेपाली काङ्ग्रेस पर्सा जिल्ला अधिवेशनमा संस्थापन पक्षको पल्ला भारी देखिएको छ । पर्सा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रका १४ वटै स्थानीय तहमध्ये अधिकतम स्थानीय तहको अधिवेशनमा संस्थापन पक्षले जितेको छ । वीरगञ्ज महानगरपालिकामा मात्रै संस्थापन इतर पक्षको प्यानल बिजयी भएपछि इतर पक्ष कमजोर देखिएको हो ।
संस्थापन पक्षका रमेश रिजाल, अजय चौरसिया, सुरेन्द्र चौधरीकै प्यानलले अधिकतम स्थानीय तहमा जित हाँसिल गरेकाले त्यसको प्रभाव जिल्ला अधिवेशनमा पनि देखिने आँकलन गरिएको छ । वीरगञ्ज महानगर समितिको अधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा भएजस्तै जिल्ला अधिवेशनमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना थियो ।
यद्यपी अन्तिममा रामनारायण कुर्मीले उपसभापतिमा उम्मेदवारी दिन सहमत भएपछि संस्थापन पक्षबाट जनार्दन सिँह क्षेत्री र संस्थापन इतर पक्षबाट वर्तमान सचिव श्याम पटेलले उम्मेदवारी दिएका छन् । तत्कालिन जिल्ला विकास समितीका सभापतिसमेत रहेका क्षेत्री गत अधिवेशनमा जिल्ला सभापति अजय द्विवेदीसँग १ सय ९५ मतले पराजित भएका थिए । द्विवेदीले ५ सय ५० मत ल्याउँदा क्षेत्रीले ३ सय ५५ मत प्राप्त गरेका थिए ।
संस्थापन पक्षका केन्द्रिय सदस्यद्वय रमेश रिजाल र अजय चौरसियासँगै पूर्व सभापति एवम् पूर्व मन्त्री सुरेन्द्र चौधरीले क्षेत्रलीई साथ दिएका छन् । पटेललाई भने संविधान सभा सदस्य तथा पूर्व जिल्ला सभापति राजेन्द्र बहादुर अमात्य र वर्तमान सभापति अजय द्विवेदीको साथ रहेको छ । ७ जना पदाधिकारी सहित ६८ सदस्यीय जिल्ला कार्य समितिको प्रतिस्पर्धाका लागि १ हजार ८ सय मतदाता रहेको निर्वाचन अधिकृत नरेन्द्र के.सी.ले जानकारी दिए ।
दुवै प्यानलबाट सभापतिदेखि सह–सचिवसम्मका उम्मेदवारीमा महिलालाई समावेश नगर्नु दुःखद विषय भएको पर्साको पटेर्वासुगौली गाउँपालिकाकी उपप्रमुख एवम् नेपाली काङ्ग्रेसकी नेतृ ममता महतोले बताए छ । महतोले भनिन्, ‘मुख्य कार्यकारिणी पदमा महिलाहरु समेट्नुपर्ने थियो । तर यहाँ महिलाको कलस्टर बाहेक अरुमा महिला नअटाउनु दुर्भाग्यपुर्ण हो ।’ महिला सक्षम छैनन् भन्ने मानसिकता त्यागेर अवसर दिनुपर्नेमा महतोको जोड छ ।
क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलम र सहसचिवमा नविन सिँह र मदन प्रसाद यादवको उम्मेदवारी परेको छ ।
पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरी, सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादव र सहसचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन् ।