वीरगञ्ज, १८ फाल्गुन । वीरगञ्ज महानगरपालिकाकाले ३२ वडाका ८ सय घर परिवारर्लाइ ग्यास चुल्हो र सिलिण्डर वितरण गर्ने भएको छ । पालिकाभित्र अझै दाउराले खाना बनाउँदै आएका विपन्न, दलित तथा गरिव मुसलमानहरुलाई महानगरको ‘गोहरासे–ग्यासतक’ कार्यक्रम अन्र्तगत ग्यास सिलिण्डर र चुल्हो वितरण गर्न सुरु गरेको हो ।
सोही कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका ११ का १७ घरपरिवारलाई ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले पूर्व घोषीत कार्यक्रम अनुसार ग्यास चुलो बितरण गरिएको बताए । वडा नम्बर ११ को वडा कार्यालयले दिएको सिफारिसका आधारमा ग्यास भरिएको सिलिण्डर र ग्यास चुलो वितरण गरिएको नगरप्रमुख सरावगीले जानकारी दिए ।
‘गोहरासे–ग्यासतक’ कार्यक्रम अन्र्तगत महानगरपालिकाका ३२ वटै वडाका ८ सय घरपरिवारलाई भरिएको सिलिण्डर र ग्यास चुलो वितरण गर्ने लक्ष्य रहेको नगरप्रमुख सरावगीले जानकारी दिए । यस वडामा २५ परिवारलाई दिने भनिएपनि हाल १७ जनालाई मात्र वितरण गरिएको वडा नम्बर ११ का वडा अध्यक्ष प्रधुम्न प्रसाद सेढाईले जानकारी दिए ।
वडा अध्यक्ष सेढाईका अनुसार वडामा ग्यास चुलो नभएका घरलाई छनौट गरेर महानगरलाई सिफारिस गरिएको हो । सेढाई भन्छन्, ‘वडाका सबै टोलहरुमा पुगेरै माटोको चुलो भएका गरिब, दलित एवम् विपन्न मुस्लिम समुदायका गरेर २५ जनाको नाम सिफारिस गरिएकोमा हाल १७ जनालाई बाँडिएको छ । अरुले पनि नागरिकता लिएर आएपछि पाउनेछन् ।’
चुनाव नजिकिएसँगै यसरी ग्यास चुलो वितरण गर्नुलाई विपक्षीहरुले चुनावी कार्यक्रमको संज्ञा दिएका छन् । चुनावलाई प्रभाव पार्नेगरी सरकारी बजेट खर्चगरेको विपक्षिको टिप्पनी रहेको छ । भोट बैंक सुरक्षित गर्नका लागि ग्यास चुलो वितरण गरेपनि जनता मेयर सरावगीको कार्यकालदेखि पूर्ण रुपमा असन्तुष्ट रहेको हुँदा ग्यास चुलो लिएर पनि भोट नदिनेमा विश्वस्त रहेको नेकपा एमालेका युवा नेता मुकेश द्विवेदीले बताए ।