वीरगञ्ज, १७फागुन । उद्योगी व्यवसायीहरुले भन्सारसँग सम्बन्धित समस्याहरुको समाधानका लागि भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईको ध्यानाकर्षण गराएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा संघकै सभाकक्षमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले मेशिनका पार्टसहरु मगाउँदा बढी भन्सार तिर्नुपर्ने व्यवस्था परिमार्जन गरी १ प्रतिशतमा झार्नुपर्ने माँग गरेका छन् ।
भारत तथा तेस्रो मुलुकबाट आयातहुने तयारी साामन र कच्चा पदार्थको भन्सार दर समान रहेकाले १ तह फरक हुनुपर्ने अध्यक्ष डा. गुप्ताको भनाई छ । एकिकृत सुरक्षा जाँच चौकी (आईसिपी) बाट हाल मालवाहक सवारी साधनको मात्रै आवागमन भएको हृुँदा ४ पाङ्ग्रे सार्वजनिक सवारी साधनलाई पनि आवतजावतका लागि अनुमति दिनुपर्ने संघले माग गरेको छ ।
विगतका वर्षमा दाल निर्यात गर्दै आएको ४ प्रतिशत अनुदान सरकारले बन्द गरेकोमा आपत्ति जनाउँदै दलहन निर्यातमा दिँदै आएको अनुदान पुनःलागु गर्नुपर्नेमा अध्यक्ष गुप्ताले महानिर्देशक भट्टराईलाई ध्यानकर्षण गराएका छन् ।
वीरगञ्ज ऐतिहासिक पृष्ठभूमि बोकेको औद्योगिक एवम् व्यापारिक महत्वको शहर भएपनि सरकारले उपेक्षा गरेको अध्यक्ष डा. गुप्ताको बुझाई छ ।
सो अवसरमा संघका उपाध्यक्ष माधव राज पालले कार्यपत्र प्रस्तुतगर्दै ४७ वटा सङ्केत नम्बरमा आउने माल बस्तुको हकमा शतप्रतिशत मार्जिन राख्ने प्रावधान, भन्सार मूल्याङ्कनमा देखिएको जटिलता, आईसिपी र ड्राईपोर्टको सौन्दर्यकरण, व्यवस्थापक सहितका व्यावहारिक एवम् नीतिगत कठीनाईको बारेमा ध्यानाकर्षण गराएकाथिए ।
भन्सार प्रशासन, भिसिटिएस मूल्याङ्कन, भन्सार प्रयोगशाला लाई आधुनिकीकरण गर्नुपर्ने, विद्युतिय भुक्तानीमा देखिएका प्राविधिक समस्याहरुकाकारण कठीनाई हुने गरेको उद्योगी व्यवसायीहरुले बताएका छन् ।
महानिर्देशक भट्टराईले संघले राखेका मागहरु जयज भएको बताउँदै ति मागहरुको सम्बोधनकालागि पहलगर्ने प्रतिबद्धता जनाए । व्यावहारिक समस्यालाई तत्काल सम्बोधन गर्ने र नीतिगत समस्याहरुको समाधानकालागि आवश्यक गृहकार्य गरेर सहज वातावरणको निर्माण गर्ने महानिर्देशक भट्टराईको भनाई छ ।
राज्यको आधा हिस्सा राजस्व यही क्षेत्रबाट संकलन हुने भएकाले यहाँका उद्योगी व्यवसायीहरुलाई समस्यामा पार्ने कार्य नहुने उनले बताए । विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेको २ हप्तामात्र भएकोले समस्याका प्रकृती हेरेर प्राथमिकताका आधारमा समाधनगर्ने उनले बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष द्वय अशोककुमार टेमानी, प्रदीप केडिया, उपाध्यक्ष हरी गौतम, सचिव आशीष लाठ, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, भन्सार विभागका निर्देशक रामप्रसाद रेग्मी, ड्राईपोर्ट भन्सारका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले आ–आफ्नो धारणा राखेकाथिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक टीका पोखरेल, आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कर अधिकृत कपिलप्रसाद सुवेदीलगायतको उपस्थिती रहेको थियो ।
संघका बरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण संघका महासचिव मनोज कुमार दासले गरेकाथिए ।