सिरहा, ११ फागुन । नेपाली काँग्रेसका सिरहा क्षेत्र नम्वर ३ का क्षेत्रीय सभापति संजय प्रकाश यादवले अव पक्ष–विपक्ष भन्दा पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्नुपर्ने बेला भएको बताएका छन् । सिरहाको गोलबजार नगरपालिका ६ का पार्टीका विभिन्न पदमा निर्वाचितहरुलाई सम्मान तथा अन्तरकृया कार्यक्रमलाई सम्वोध गर्दै सभापति यादवले स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई एकढिक्का पारेर जानुपर्ने बताएका हुन् ।
उनले नेपाली काँग्रेस पुरानो पार्टी र आज पनि सवैभन्दा बलियो पार्टी भएको जिकिर गरे । उनले भने, ‘आज पनि नेपाली काग्रेस बलियो पार्टी हो । तर, आन्तररिक मतक्यता नहुँदा पराजय खेप्नु परिरहेको छ । अवको तिदनमा हामी एकताबद्ध भएर जानु पर्छ ।’
पार्टीका महासमिति सदस्य चन्द्रदेव यादवले पार्टीको आसन्न जिल्ला अधिवेशनमा गोलबजार नगरपालिकालाई पदाधिकारीमा समेट्नु पर्ने बताए । उनले अव गोलबजार सिरहा र लहान पछिको राजनीतिक थलो भएकाले पार्टी पदाधिकारीमा ठाउँ पाउनु पर्ने बताए । उनले भने, ‘अव गोलबजार पनि सिरहा र लहान जतिकै राजनीतिक थलो भईसक्यो, म व्यक्ति भन्दिन तर पार्टीपदाधिकारीको जिम्मेवारी पाउनु पर्छ ।’
कार्यक्रममा महासमिति सदस्य कृष्ण देवी यादव, मधेश प्रदेश सदस्य शिवकुमारी साह, गोलबजार नगर सभापति राजदेव साह ‘लालबाबु’ लगाएतले मन्तव्य राखेका थिए ।
गोलबजार नपा ६ का वडा सभापति पङ्कज यादवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव प्रमोद यादवले गरेका थिए । सो क्रममा वडाबाट पार्टीका विभिन्न पदहरुमा निर्वाचित २७ जना व्यक्तित्वहरुलाई क्षेत्रीय सभापति संजय प्रकाश यादवले प्रमाणपत्र सहित सम्मान गरेका थिए ।