जनकपुर, १ फागुन । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलिय गठबन्धलाई भत्काउने प्रतिक्रियाबादीहरुको षडयन्त्र सफल नहुने बताएको छ । २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकार अन्तर्गतको मधेशी शहिद प्रतिष्ठानद्वारा आज जनकपुरधाममा आयोजित शहिद परिवारको सम्मान तथा राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भईरहेकाले प्रतिक्रियाबादी तत्वहरुको गठबन्ध भत्काउने षडयन्त्र सफल नहुने बताएका हुन् ।janudha diwas_ samman gardai 2 (1)
‘गठबन्धन बनेदेखि नै प्रतिक्रियाबादीहरु, पुरा राजा महाराजाहरु गठबन्धन भत्काउने षडयन्त्रमा लागेका छन्’ अध्यक्ष प्रचण्डले भने, ‘त्यो षडयन्त्र अझै पनि जारी छ, तर हामी यो गठबन्धनलाई अझै सुदृढ बनाएर लैजाने प्रतिबद्धता साथ अघि बढिरहेका छौं, त्यसैले उनीहरुको त्यो सपना कहिले पुरा हुँदैन् ।’ संबिधान नस्वीकार्ने, परिवर्तनलाई आत्मसात नगर्ने तत्वहरुले गठबन्धनलाई भत्काउने, निर्वाचन कार्यक्रमलाई बिथोल्ने र फेरी पनि मुलुकको वातावरणलाई धमिलो बनाउने प्रयास गरिरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाई थियो ।
‘जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका बलमा पराजित भएका प्रतिक्रान्तिकारी प्रवृत्ति चुप लागेर बसेको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइराखेको छ र त्यसलाई मलजल गर्न देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरु सक्रिय नै छन् ।’
संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वय र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अझै गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरालाई गठबन्धनका साथै नेताहरुले बुझेकाले तत्काल गठबन्धन नटुट्ने दाबी गरे ।
प्रदेशको नाम मधेश प्रदेश कायम गर्ने र पहिलो पटक औपचारिक रुपमै जनयुद्ध दिवस आयोजना गरेर मधेश प्रदेश सरकारले एतिहासिक स्वागतयोग्य काम गरेको बताउँदै उनले यसबाट देश र बिदेशलाई नयाँ सन्देश गएको बताए ।
नयाँ आन्दोलन र अभियानका लागि सङ्कल्प लिने आएको जिकिर गर्दै उनले संघर्षका लागि उर्जा प्राप्त गर्न मधेशी जनताको बीचमा जाने पार्टीले निर्णय लिएको सुनाए ।
जनयुद्धको थालनि मधेशबाटै गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आवश्यक परे पुनः मधेशी जनताको बीचमा जाने र उर्जा प्राप्त गर्ने योजना रहेको बताए ।
कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले शहिदहरूको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्दै आर्थिक सम्बृद्धि र समानताका लागि सबै दल एक जुट हुनुपर्ने बताए ।
सो कार्यक्रमलाई र्भजुल माध्यमबाट सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनयुद्धको कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएकोले जनयुद्धलाई सरकारले महत्वका साथ लिएको बताए ।
शहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धिहरू संस्थागत गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले शहिद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कन्जुस्याइँ नगर्ने बताए ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पुर्वमन्त्री मातृका प्रसाद यादवले प्राप्त उपलब्धिहरुको रक्षा गर्न र आगामी कार्यभार पुरा गर्न मुलुकमा माओवादी आवश्यक रहेको बताए ।
न्ययायालयको शुद्धिकरणको लागि प्रधानन्यायाधीश बिरुद्ध महाअभियोग लगाईएको दाबी गर्दै उनले यसबाट न्यायालयभित्र रहेको बेथिति र बिकृतिहरु अन्त्य हुने बताए ।
शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले जनयुद्ध लगायत बिभिन्न आन्दोलनका क्रममा शहिद भएका सबैलाई शहिद घोषणा गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, वन तथा पर्यटन मन्त्री सत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्णले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्दै मुलुकको आर्थिक सम्बृद्विका लागि दलिय एकता जरुरी रहेको बताए ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री तथा मधेशी शहिद प्रतिष्ठानका अध्यक्ष भरत प्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा शहिद भएकाहरू ४० जनाको परिवारलाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरे ।

pk-farnichar-gbr