जनकपुर, ६ पुस । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको क्रममा बाँकी रहेको प्रदेश नंं २ को प्रदेश अधिवेशनको चुनावी प्रक्रिया आजबाट शुरु भएको छ ।
आज दिउँसोसम्म मतदाता नामावली प्रकाशन गर्ने काम सम्पन्न भएको निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिए । आजै साँझ चार ३० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता, आजै उम्मेदवारी फिर्ता लिने, दाबी विरोध, अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम तय गरेको अधिकृत गौतमले जानकारी दिए ।
भोलि बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ । अहिले जनकपुरका होटल, लज तथा धर्मशालाहरू महाधिवेशन प्रतिनिधि तथा काँग्रेसका नेता एवमे कार्यकर्ताहरूबाट भरिएको छ ।
जनकपुरधामको गोपाल धर्मशालामा उम्मेदवारको मनोनयन पत्र दर्ता हुने क्रम जारी रहेको छ ।
प्रदेश निर्वाचनमा मतदान गर्ने केन्द्रीय, प्रदेश महाधिवेशन प्रतिनिधि, केन्द्रीय पदाधिकारी गरेर १ हजार ९ सय ९२ जना मतदाता रहेको बताइएको छ ।
अधिवेशनका लागि पार्टीका शीर्ष तहका नेताहरू जनकपुर आएका छन् भने कतिपय नेताहरू आउने क्रम जारी रहेको छ ।