फाईल फोटो ।
काठमाडौं, ६ पुस । केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो भने बढेको छ । चिसो हावा चल्न थालेकाले जाडो ह्वात्तै बढेको हो ।
बिहान हुस्सु कुहिरोसँगै तुसारो पर्नै र दिउँसो र बेलुका चिसो हावा चल्न थालेपछि जाडो बढेको छ । काठमाडांै उपत्यकासहित धेरै ठाउँमा तुसारो पर्न थालेको छ । यस्तै, उत्तर पश्चिमी क्षेत्रबाट आएको हावाका कारण पनि चिसो बढेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् शान्ति कँडेलकाअनुसार उत्तर पश्चिमी क्षेत्रबाट नेपाल आउने हावा हिमाली क्षेत्र हुँदै बहन्छ । हिउँ परेको हिमाली क्षेत्र हुँदै बहने हावा बढी चिसो हुने उनको भनाइ छ । अहिले उपत्यकासहित तराईका कतिपय जिल्लामा हुस्सु, कुहिरो लागेको छ ।
दिउँसो घाम लागे पनि आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताए । आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् । काठमाडांैको बिहानको न्यूनतम तापक्रम आज ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।