सिरहा, ५ पुस । सिरहाको गोलबजारमा हत्या विरोधमा उत्रेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । सडक खुलाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको हो ।
झडपमा परी दुई जना घाइते भएका छन् । प्रहरीको लाठिचार्जबाट कर्जन्हा नपा ५ का समलिया सदायको टाउको फूटेको छ । उनको गोलबाजरस्थित भुमिजा अस्पतालमा उपचार भईरहेको छ । उनी मृतक रामकुमारका दिदी हुन् ।
प्रहरीलाई भने आन्दोलनकारीले लखेटेर ईलाका प्रहरी कार्यालय पसाएका छन् । प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा समेत गरेपछि अवस्था अहिले पनि तनावग्रस्त छ ।
शनिवार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ का २६ बर्षीय रामकुमार सदायको मृत्यू भएको थियो । छुरा प्रहारबाटै उनकै साथी निकेश सदाय गम्भीर घाईते छन् । उक्त घटनाको विरोधमा आईतवार राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले २४ घण्टाभित्र अपराधीलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएको थियो । तर पक्राउ नगरेको भन्दै आज विहानैदेखि राजमार्ग पुनः अवरुद्ध पारेका छन् ।
राजमार्ग अवरुद्धका कारण हजारौं सवारी साधन अलपत्र परेको छ । आन्दोलनकारी अझै सडकमा ठूल ठूला लाठि लिएर बसेका छन् ।