सर्लाही, ४ पुस । जिल्लाहरुलाई नै सदस्य छान्ने जिम्मा लगाउँदै नेकपा माओवादी केन्द्र प्रदेश २ को बन्द सत्र सकिएको छ। २ सय ७१ प्रदेश समिति प्रदेश समिति बनाउने र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गर्ने निर्णय गर्दै सर्लाहीको लालबन्दीमा बन्द सत्र सम्पन्न भएको हो।
बैठकले जिल्लाहरूलाई जिल्लामा भएका सक्रिय सदस्यबाट आरक्षण कोटा अनुसार प्रदेश सदस्य तथा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट गरेर प्रदेश आयोजक समितिमा पेश गर्ने जिम्मा दिइएको प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए।
उनका अनुसार जिल्लाबाट हाल कायम रहेको सक्रिय सदस्य, संगठन लगायतको आधारमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ र मुस्लिम ५ प्रतिशत हुने गरी प्रदेश सदस्य छनोट गर्नुपर्ने छ। यस्तै, १५ सय सक्रिय सदस्यबाट एकजना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट गर्ने निर्णय भएको बताइएको छ।
यो नामावली छनोट गरेर जिल्लाले पुस २० गतेसम्म आयोजक समितिलाई बुझाउनु पर्ने छ। आयोजक कमिटीले त्यस पश्चात सोही २ सय ७१ सदस्यबाट अध्यक्ष सहितका पदाधिकारी चयन गर्ने अध्यक्ष बुढाथोकीले बताए। उनका अनुसार सांगठनिक अवस्था र क्लस्टर अनुसार सदस्य छनोट गर्दा प्रत्येक जिल्लाबाट २५ देखि ४० जनासम्म सदस्य छनोट हुने छ।
पुस २५ गते भव्य रुपमा घोषणा सभा आयोजन गरेर प्रदेश कमिटी घोषणा गर्ने सदस्य महतोले जानकारी दिए। गएको मंसिर २५ गते जनकपुरमा अधिवेशनको उद्घाटन सत्र गरेको माओवादी केन्द्र पुस २ गते बन्दसत्र गर्ने निर्णय गरेको थियो। जिल्लाहरुले प्रतिनिधी समयमा नपठाएको भन्दै ३ गतेलाई सारिएपनि विवादका कारण फेरी आजलाई सारिएको थियो । आज पनि पार्टी भित्रको विवाद निस्कर्षमा नपुगेपछि जिल्लालाई जिम्मा लगाउँदै बन्दसत्र समापनको घोषणा गरेको छ।
प्रदेश कमिटिर यस प्रदेशमा रहेका नेतृत्वको असक्षमताका कारण बन्दसत्रले कार्यसमिति छनौट गर्न नसकेको सहभागी एक नेताले बताए । उनलेभने, ‘नेताहरु विचको टकराव, गुट र हठका कारण यो बन्दसत्र सफल हुन नकेको हो, यसको जिम्मा आयोजक र नेताहरुले लिनु पर्छ ।’