जनकपुर, २९ मंसिर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामकरण र स्थायी राजधानी यहि अधिवेशनबाट टुङ्गो लगाउन अनुरोध गरेका छन् ।बुधबारदेखि शुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यही अधिवेशनले प्रदेशको नामकरण र राजधानीको टुंगो लगाउन सवै दलका नेताहरुसँग अनुरोध गरेका हुन् ।
प्रदेश २ को नामाकरण हुन नसक्दा नामकै कारण पनि आफूहरुलाई होच्याउने घोजपेज गरेको बताउँदै विपक्षी दल र सरकारमा रहेका दलका नेताहरुलाई घनीभूत बैठक छलफल गरेर टुंग्याउन आग्रह गरे ।
मुख्य मन्त्री राउउले ‘हाम्रो पहिलो काम नाम र राजधानी टुङ्याउने हुनुपर्थ्यो, यो दुवै हुन सकेन । यो अधिवेशन पूर्व पनि विभिन्न कारणले ढिलासुस्ती या विभिन्न परिस्थितिका कारण हामीले टुंग्याउन सकेनौं ।’
उनले थपे यसअधि पनि, ‘हाउसमा यसले प्रवेश पनि पाएको थियो तर निकास दिन सकेन । तर, यो बैठक हाम्रो लागि अवसर बनोस्, हामी सवै सरकारमा रहेका र नरहेका दलहरुले टुङ्गो लगाऔं, यो हाम्रो ठूलो उपलब्धी हुने छ ।’
उनले आफूहरुको समयपनि सकिन लागेकोले हामीले हाम्रैपालामा यसको टुङ्गो नलाग्ने अवस्था भए हामी कलङ्क भागिदार हुने बताए । उनले भने, ‘हाउसले निकास दिन नसके हाम्रै कमीकमजोरी ठहरिनेछ । त्यही भएर सबै मिली यसलाई निकास दिऔं ।’