काठमाडौं, २९ मंसिर। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन् ।
दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको मध्ये २ हजार ७ सय ३३ मत सहित देउवा विजायी भएका हुने । प्रतिद्वन्द्वी कोइरालाले १ हजार ८ सय ५५ मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।
यस अघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएपनि बहुमत सिद्ध हुन सकेका थिएन ।
कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २ हनार ३ सय ४० मत चाहिन्थ्यो ।