फाईल फोटो ।

जनकपुर, २९ मंसीर । प्रदेश २ को प्रदेशसभा बैठक भोली बुधवारका लागि आव्हान गरिएको छ । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन बुधवार विहान ११ बजेको लागि आह्वान गरेको हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
भोलीको बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यहरुलाई जानकारी गराईसकेको र बैठकको सम्पुर्ण तयारी समेत पुरा भईसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोलि बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिबेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानी सम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।
यद्यपि, नेपाली काँग्रेसको १४ औं महाधिवेशन लम्बिएका कारण काँग्रेसका प्रदेशसभा सदस्यहरु महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले भोलिको बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ । प्रदेशसभाको आठौं अधिबेशनबाट प्रदेशको नामाकरण र राजधानीको प्रस्ताव टेबल हुनेछ ।
प्रदेशको राजधानी जनकपुरलाई नै कायम राख्नेमा सबै दल सहमत भएपनि नामकरणको बिषयमा दलहरुबीच फरक फरक धारणा रहेका छन् । जसका कारण प्रदेशको राजधानीको प्रस्ताव पारित हुने सम्भावना रहेको प्रदेशसभा सदस्यहरुको भनाई छ ।