जनकपुर, २४ मंसिर । सवै जिल्ला र स्थानीयतहको अधिवेशन नसकिएपनि नेकपा माओवादी केन्द्रले प्रदेश २ को अधिवेशन भोली शनिवार जनकपुरमा गर्ने भएको छ । पार्टीका प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले शुक्रवार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन उद्घाटन गर्ने जानकारी गराएका हुन् ।
स्थानिय तह र जिल्लाको अधिवेशन सम्पन्न नभएपनि प्रदेश अधिवेशनको भोली उद्घाटन कार्यक्रम राखिएको छ । प्रदेश संयोजक बुढाथोकीले भोलि प्रदेश अधिवेशनको उद्घाटन र पुस ३ गते बन्दसत्र गर्ने गरी योजना बनेको जानकारी दिए ।
संयोजक बुढाथोकीका अनुसार प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये ३० पालिकाको अधिवेशन सम्पन्न हुन बाँकी रहेको छ । हुन नसकेका पालिकाहरुले पनि अव चाँडै अधिवेशन सम्पन्न गर्ने बताए । प्रदेश अधिवेशनमा १ सय ३६ पालिकाबाट ६ सय तथा आयोजक र मनोनित गरी १ हजार प्रतिनिधि सहभागी हुनेछन् ।
अधिवेशनबाट चयन गरिने २ सय ७१ सदस्यीय प्रदेश २ को कमिटीमा ९ जना पदाधिकारी हुनेछन् । सकभर सहमतिमै नेतृत्व चयन गरिने प्रदेश संयोजक बुढाथोकीको भनाइ छ ।
अधिवेशन सम्पन्न नभएका पालिकाहरुबाट उद्घाटन समारोहमा केन्द्रिय सदस्य र प्रदेश सदस्यहरु सहभागी रहने बताइएको छ । आन्तरिक विवादका कारण तोकिएको अवधिमा सवै पालिकाका सम्मेलनहरु सम्पन्न हुन नसकेको बुझिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताइएको छ । उद्घाटन समारोहमा पार्टीका स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव र गणेश साहलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।