काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । उद्घाटन लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा निर्माण गरिएको छ । मञ्चमा एकैसाथ १ सय ५० जनाभन्दा बढी अठाउने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाट्मा रहने उनले बताए ।
उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने भएको छ । भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेको काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
उद्घाटन समारोह २ घण्टाभित्र सक्ने गरी व्यवस्थापन मिलाइएको छ । उद्घाटन समारोहमा देशका प्रमुख पार्टीका नेता र विदेशी प्रतिनिधिले आ–आफ्ना धारण राख्ने र पार्टीका नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम छ ।
सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ ।
महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ। यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ ।
महाधिवेशनमा चार हजार ७ सय प्रतिनिधि रहने छन् । अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि महाधिवेशनसम्बन्धी आवश्यक विवरणसहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ