सिरहा, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बैज्ञानिक समाजवादको पक्षमा रहेको पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएको छ । नेकपा माओवादी केन्द्रको प्रथम गोलवजार नगर सम्मेलनको आइतबार उदघाटन गर्न प्रमुख अतिथिको रुपमा सिरहाको गोलवजार आएका श्रेष्ठले आफ्नो पार्टी उन्नत, अग्रगामी र गरिव मजदुरहरुको पार्टी रहेको बताएका हुन् ।
पुर्व उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको मन्त्रीको जिम्मेवारी समेत सम्हाली सकेका श्रेष्ठले जनताको संविधानमा प्रदत्त अधिकार प्रत्याभूत गर्ने, गाँस, बास र कपासको ग्यारेन्टी गर्ने एक मात्र पार्टी नेकपा मओवादी केन्द्र भएको दावी गरे ।
आफ्नो पार्टी अन्य पार्टी भन्दा फरक रहेको बताउदै उनले भने, ‘अग्रगामी, उन्नत र क्रान्तिकारी सिद्धान्त बोकको पार्टी नेकपा माओवादी केन्द्र हो, यही पार्टीले नै सम्पूर्ण मजदुर समूदायको मुक्तिको लागि संघर्ष गर्दै आएको छ र गरिरहने छ ।’
मजदुर, श्रमजीवी, मधेसी, दलित, गरिव, लगायत सर्वहारावर्गको उत्थानका लागि पूंजीवादी राजनीति प्रवृत्तिलाई परास्त गरि समाजवादको सिद्धान्तलाई आगाडी बढाउनका लागि जनताले माओवादी केन्द्रलाई मात्र विश्वास गर्नु पर्ने नेता श्रेष्ठले तर्क गरे ।
जनताको अपेक्षा अनुसार संविधानसभाको प्रथम चुनावमा पहिलो पार्टीको रुपमा स्थापित भई दोस्रो संविधानसभा पश्चात् तेस्रो ठूलो दल भएकोले आउने चुनावमा पहिलो पार्टी हुने उनले दावी गरेका छन् ।
उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश २ का सह इन्चार्ज विश्वनाथ साह, महेन्द्र पासवान, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अजयशंकर नायक, रामकुमार यादव, केन्द्रिय सदस्य सीता पोखरेल, जगत यादव, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।