वीरगञ्ज, १४ मंसिर । पर्साको ग्रामिण क्षेत्रका किसानहरुलाई यति बेलागहुँ छर्ने चटारो छ । धानबाली भित्र्याएका कृषकहरुलाई गहुँ छर्ने कामले भ्याईनभ्याई छ । विगतका वर्षहरुमा घरकै गहुँको बिउ छर्दै आएका किसानहरुलाई यस वर्ष सखुवाप्रसौनी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको गहुँको बिउ वितरण गरेपछि कृषकहरु उत्साहित भएका हुन् ।
घरकै बिउ छर्दा उत्पादनमा कमीआउने, रोग लाग्ने सम्भावना बढ्ने हुँदा प्रभावकारी नहुने सखुवाप्रसौनी गाउँपालिका ५ का कृषक ध्रुब यादवको भनाई छ । सखुवाप्रसौनी गाउँपालिकाले किसानहरुलाई १ हजार ५ सय २० रुपैयाँमै ४० किलो उन्नतजातको गहुँको बिउ वितरण गरीरहेको वडा नम्बर ५ का वडा अध्यक्ष रुपलालकुमार यादवले बताए ।
गहुँखेतीलाई अँझै व्यवस्थित गरेर थोरै मेहनतमा धेरै उत्पादन गर्ने तर्फ कृषकहरुलाई प्रेरित गर्न गाउँपालिकाले पहल गरीरहेको गाउँपालिका अध्यक्ष प्रदिपकुमार जैसवालले बताए । गाउँ पालिकाको कृषि शाखाका प्राविधिक सहायक दयाराम वाग्लेका अनुसार प्रति कट्ठा ४ देखि ५ किलो उन्नतजातको बीउ, ३ किलो डि.ए.पीमल र १ किलो पोटास छर्दा उत्पादनमा बृद्धि हुने सम्भावना बढी हुन्छ ।
उन्नत जातको बीउ छरेपछि बालीमा रोग नलाग्ने र छरेको २० देखि २५ दिन भित्र सिचाई गर्ने तथा ८ दिनभित्र रासायनीक मल (युरिया) प्रति कट्ठा डेढ किलो राख्नुपर्ने वाग्लेको भनाई छ ।