महोत्तरी, १३ मंसिर । नेपाली कांग्रेस महोत्तरीको वडा र क्षेत्रको अधिवेशन टुंगिन नसक्दा जिल्ला अधिवेशन प्रक्रिया अगाडि बढाइएको छैन ।
मनरासिस्वा नगरपालिकाको-८ को विवादका कारण अधिवेशन भएको छैन भने क्षेत्र नम्बर २ र ३ मा सहमति जुटाउन निरन्तर छलफल भएता पनि विवाद कायम नै छ ।
क्षेत्र नम्बर १, २ र ४ मा प्रदेशसभा प्रतिनिधिहरू चयन भए पनि क्षेत्र नम्बर ३ मा भने वडा अधिवेशनको विवादले प्रदेशसभा, केन्द्रीय महाअधिवेशन प्रतिनिधि तथा पालिका र क्षेत्रीय अधिवेशन अझै भएको छैन ।
क्षेत्र न.१ र ४ को भने अधिवेशनको परिणाम आइसकेको छ । क्षेत्र नम्बर १ मा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । त्यसैगरी क्षेत्र नम्बर ४ मा सर्वसम्मतिमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको हो ।
क्षेत्र नम्बर १ मा महेश कुमार झा र क्षेत्र नम्बर ४ मा उत्तिम प्रसाद सभापतिमा निर्वाचित भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले देशैभरी सकेसम्म सर्वसम्मतिमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएपछि महोत्तरीका नेता तथा कार्यकर्तासमेत सर्वसम्मतको प्रयासमा जुटेका थिए ।
तर, आकांक्षी धेरै भएपछि सर्वसम्मतको प्रयास असफल भइरहेको नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले जानकारी दिए ।