वीरगञ्ज, १२ मंसिर । शनिवार देशैघर नेकपामाओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । जसमध्ये वीरगञ्जमा २ ठाउँमा अधिवेशन भयो । मुर्लीमा र वीरगञ्जको नगरसभा गृहमाभएको एउटै पार्टीको दुईठाउँमा भएको अधिवेशनले पार्टी भित्रको विवाद छताछुल्ला भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअल रुपमा एकैपटक देशैभरका अधिवेशनलाई सम्बोधन गरेका थिए । नगर सभागृहमा सम्पन्न अधिवेशनबाट रहबर अन्सारीको अध्यक्षतामा वीरगञ्ज महानगर कमिटी गठन भएको छ भने मुर्लीमा भएको अधिवेशनले सब्बा अन्सारीको अध्यक्षतामा अर्काे महानगर कमिटी गठन भएको छ ।
रहबर अन्सारीको अध्यक्षतामा गठीत कमिटीको उपाध्यक्षमा राजु बैठा, अनिरूद्ध यादव, जुनैदिन अंसारी, सचिवमा सुरेन्द्र गुप्ता, सहसचिवमा दिपेन्द्र मण्डल, कोषाध्यक्षमा रेनु कार्की, सदस्यहरू अशोक यादव, ओमप्रकाश गुप्ता, हिरा अंसारीलगायत ९९ जना रहेका छन् ।
त्यसैगरी, सब्बा अन्सारीको अध्यक्षतामा गठीत कमिटीको उपाध्यक्षमा अच्छेलाल ठाकुर, विनय पटेल, रुपा मण्डल, सचिवमा नन्दकिशोर पंजियार, सह–सचिवमा मनोज यादव, कोषाध्यक्षमा नुरहोदा आलमलगायत ९९ सदस्यीय रहेका छन् ।
यी दुवै समूहले आ–आफु आधिकारीक कमिटी रहेको दावी गरेपनि वैद्यानिकता कसले पाउने भन्ने चासोको विषय बनेको छ ।