काठमाडौं, ९ मंसिर
जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निस्कासन गरेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई केन्द्रीय सदस्यबाट निस्कासन गरेर कारबाही गरेको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डल विस्तार हँुदा यादवलाई मन्त्री नबनाएको भन्दै पर्सा, बिरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन भएको थियो । सो पुत्ला दहन सांसद यादवको निर्देशनमा भएको भन्दै यादवलाई कारबाही गरिएको हो ।
‘प्रदीपजीलाई कारबाही गर्नु हुन्न भनेर अधिकांशले मत राख्दा राख्दै पनि केन्द्रीय सदस्यबाट निस्कासनत गर्ने निर्णय कार्यकारिणी समितिको बैठकले लिएको छ’ एक कार्यकारिणी सदस्यले भने । उनका अनुसार मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, रमेश यादवलगायत अधिकांश नेताले कारवाही नगर्न आग्रह गर्दा पनि अध्यक्ष उपेन्द्र यादवको जोडबलमा कारबाही निर्णय लिइएको हो ।
कार्यालय सचिव प्रकाश अधिकारीले पेस गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा यादव केन्द्रीय सदस्यबाट निस्कासनमा परेका हुन् ।
यादवले दिएको प्रस्टीकरण चित्त नबुझेपछि अध्यक्ष यादवले कारबाही गरेका हुन् ।
सांसद यादवलाई साधारण सदस्यबाट नै निस्कासन गर्ने प्रस्ताव गरे पनि अन्य नेताको बिरोधपछि केन्द्रीय सदस्यबाट मात्रै तत्कालका लागि निस्कासन गरिएको एक नेताले बताए ।
त्यसो त सांसद यादव यसअघि पनि कारबाहीमा परिसकेका हुन् । स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियायामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।
यसैगरी, बैठकले बिरगञ्ज महानगरपालिकाका मेयर बिजय सरागवीलाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ भने १६ जना केन्द्रीय कार्यकारिणी थप गर्ने निर्णय पनि बैठकले लिएको छ ।