जनकपुर, २४ कात्तिक । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बर यात्रुवाहक बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका ६ मालटोलमा दुर्घटनाहुँदा सात जना महिला, चार जना पुरुष र एक जना बालक घाईते भएका हुन् ।
सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको प्रहरीले बताएको छ । आगलागीबाट बसको पुरै भाग जलेर नष्ट भएको छ । बस पल्टिने क्रममा तेलको टंयाकी फुटेर आगो लागेको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।
घाइतेमध्ये १० जनाको पुष्पवलपुर स्थित एक नीजि स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्रु सकुशल रहेका छन् ।
बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ । आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ ।