बद्री नारायण यादव

सिरहा, २३ कार्तिक । पार्टी नछुट्याई गाउँको चौतर्फी विकास र समृद्धिका लागि हरेक स्थानीय तहमा योजनाबद्ध रुपले बजेटमा अभिबृद्धि गरिएको पूर्व मन्त्री लिलानाथ श्रेष्ठले बताए । जिल्लाको नरहा गाउँपालिकाको प्रशासनिक भवन शिल्यानास गर्दै त्यस्तो कुरा बताएका हुन् ।
जिल्लाको सबै स्थानीय तहको तुलनामा सिरहा क्षेत्र नं.३ अन्तर्गत पर्ने स्थानीय तहलाई लक्षित गरेर चौतर्फी रुपमा विकास गर्नका लागि पार्टीगत नीति भन्दा माथि उठेर ‘खोजी–खोजी’ बजेट ल्याइदिएको उनले बताए । ‘बर्षातको मौसममा हिलाम्मे रहने गाउँ–गाउँका सडकहरुमा ढलान भएको छ; उनले भने, ‘विकासको क्रम सुरु मात्र भएको छ । बाँकी सडकहरु आउने दिनमा व्यवस्थित हुने छन् ।’
गाउँको पूर्व विकास नीतिबारे चर्चा गर्दै उनले भने, ‘तत्कालिन समयमा गाविसमा २० हजार बजेट आउँथ्यो त्यसलाई बढाएर हाम्रै पार्टीका तत्कालिन समयमा प्र.म.मनमोहन अधिकारीले गाउँको विकासका लागि ३ लाख र त्यसलाई पनि बढाएर ५ लाख ग¥यो ।’ अरु पार्टीहरुले गाउँको विकास गर्नुपर्छ भन्ने ‘नारा’ मात्र दिने गरेको उनले आरोप लगाए ।
संघीय प्रणालीको अवधारणा अनुरुप तय भएको स्थानीय तहलाई लक्षित गरेर हाम्रै पार्टीको सरकारले गाउँको चौतर्फी विकासका लागि करोडौं–करोड बजेट बिनियोजन गरिदिएको उनले सुनाए । केही विकास बिरोधी मानसिकताका व्यक्तिहरुले उपभोक्ता समितिमा आफ्नै नाउँ राखिनुपर्छ नभए काम हुनै नदिने गरि क्रियाकलाप गर्दा विकासमा समस्या आएको उनले थपे ।
उत्पादन अभिबृद्धि गर्न किसान लक्षित कार्यक्रम जस्तै सिचाई, सडक संजालको सुधार र अन्य कार्यक्रमहरु हाम्रै पार्टीको सरकारले ल्याएको उनले थप्दै भने, ‘आफुले पनि यो क्षेत्रमा किसानका लागि बोडिङ्ग जडान, सडक संजालको सुधार र सामुदायिक भवन निर्माण तथा अन्य विकासका कार्यहरु गरेको छु ।’ आउने दिनमा पनि सिरहा क्षेत्र नं.३ का जनताको समस्यालाई ध्यानमा राखेर यसरी नै क्रियाशिलताका साथ काम गर्ने उनले प्रतिबद्धता जनाए ।
गाउँका सेवाग्राहीलाई आफ्नै थलोमा सम्पूर्ण सेवा प्रदान गरिनुपर्छ भन्ने संघीय सरकारले लिएको अवधारणा अनुरुप नरहा गापाको प्रशासनिक भवन निर्माण हुन लागेको प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार यादवले बताए । निर्माण हुन लागेको प्रशासनिक भवन ३ तल्ले र ३६ कोठे हुने छन्, जसको लागत ५ करोड रहेको उनले बताए ।
आउने तीन बर्ष भित्र भवन निर्माण कार्य सक्ने गरी शिल्यानास गरिएको उनले थपे । भवन निर्माण कार्य सकेपछि एकै थलोमा नरहा गापाका सेवाग्रहीलाई लक्षित गरेर प्रशासनिक कार्य गर्न सहज हुने उनले विश्वास दिलाए ।
नरहा गाउँपालिका अध्यक्ष रामशरण यादवको अध्यक्षतामा भएको शिल्यानास कार्यक्रममा प्रदेशसभा सदस्य जगतारैन देवी साह, नरहा गापा उपाध्यक्ष गुलावदेवी सिंह लगायतले नरहा गाउँपालिकाको विकासको अवस्था र आउने दिनको विकास नीतिबारे चर्चा गर्दै आ–आफ्ना मन्त्वय राखे ।