वीरगञ्ज, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका ८ घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना. ४८ प. ७६९१ नम्बरको मोटर साइकललाई शंकालागि चेकजाँचगर्दा नगद २० लाख रकम सहित बिश्रामपुर गाउँपालिका ५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह पक्राउ परेको हो ।
प्रहरीले चेकजाँच गर्ने क्रममा साहको झोलाबाट अवैध रकम बरामद भएपछि नियन्त्रणमा लिएको पर्सा प्रहरीका सूचना अधिकारी डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
साहविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
इता पक्राउ परेका साहलाई प्रहरीले जबरजस्ती फसाउन खोजेको उनका आफन्तले आरोप लगाएका छन् । बैंकको भौचर भरेर ११ लाख रुपैयाँ आईएमईमा जम्मा गराउन जाने क्रममा प्रहरीले रोकेको र प्रहरीसँगै जाने क्रममा जय गढीमाई मनी ट्रान्सफरको काउण्टरमा रहेको ९ लाख मिलाएर २० लाख रकम लिएर प्रहरीले फसाउनखोजेको साहका आफन्तको भनाई छ ।